काठमाडौं- इजरायलमा बेन्जामिन नेतान्याहूको १२ वर्षे शासनकाल समाप्त भएकाे छ।आइतबार इजरायलको संसद कुनेसटमा भएको मतदानमा नेतन्याहू अल्पमतमा परेपछि उनी सत्ताबाट बाहिरिएका हुन्।
उनलाई हटाउँदै विपक्षी गठबन्धनका दक्षिणपन्थी नेता नाफ्टाली बेनेट नयाँ प्रधानमन्त्री बनेका छन्। संसदमा भएको मतदानमा बेनेटको पक्षमा ६० र नेतन्याहूको पक्षमा ५९ मत आएको थियो। याेसँगै उनले नयाँ गठबन्धनको सरकारलाई सत्ता हस्तान्तरण गरेका छन्।
नयाँ सरकारको प्रस्ताव पेश गरेको विभिन्न आठ पार्टीको गठबन्धनबीच भएको सम्झौताअनुसार यामिनान पार्टीका बेनेट सन् २०२३ को सेप्टेम्बरसम्म इजरायलको प्रधानमन्त्री बन्नेछन्। त्यसपछिको दुई वर्षका लागि याइर लपिड प्रधानमन्त्री बन्नेछन्।
इजरायलमा बनेकाे नयाँ सरकारसँग विपक्षीभन्दा केवल एक सिटमात्रै बढी छ। उनको गठबन्धनमा इजरायलको इतिहासमा पहिलोपटक एउटा दल पनि सामेल छ। जसले २१ प्रतिशत अरब अल्पसंख्यक प्रतिनिधित्व गर्दछ।
निर्वाचनमा कसैले पनि बहुमत ल्याउन नसकेपछि र गठबन्धन सरकार बनाउन नसकेपछि इजरायलमा पछिल्लो दुई वर्षमा चारपटक आम निर्वाचन भएको थियो। यद्यपि, कुनै दलले स्पष्ट बहुमत ल्यान सकेका थिएनन्। त्यसैले जाेसँग बहुमत पुग्छ उसैकाे सरकार गठन हुने निश्चित थियाे।
पछिल्लोपटक भएको आम निर्वाचनमा बेनेटको यामिना पार्टी पाँचौं स्थानमा थियो। निर्वाचनको नतिजा आएसँगै बेनेट विना कुनै पनि पार्टीले सरकार बनाउन नसक्ने स्पष्ट देखिएको थियो।
यता,यामिना पार्टीका साथै अन्य तीन पार्टीको पनि समान सात सिट थियाे। तर, बेनेट दुवै पक्षको लागि निकै महत्वपूर्ण थिए। त्यसैले उनले प्रधानमन्त्री पद पाएका हुन्।
त्यहीबेला बेनेटलाई प्रधानमन्त्री नेतान्याहू वा विपक्षी नेता येर लेपिडमध्ये एकसँग मिलेर प्रधानमन्त्री बन्ने प्रस्ताव आएको थियो। यस्तो अवस्थामा उनले विचारधारा निकै भिन्न भएका मध्यमार्गी नेता येर लेपिडसँग मिलेर सरकार बनाउने निर्णय गरे।
सत्ता हस्तान्तरण गर्दै आफू चाँडै सत्तामा फर्कने वाचा गरेका नेतान्याहूले अन्तिम समयसम्म पनि हार भने मानेका थिएनन्। बुधबार संसद्मा भएको निर्वाचनमा नेतान्याहूको पक्षमा ५९ मत खस्दा बेनेटले उनको भन्दा एक मत बढी पाएका थिए।
सरकारबाट हटेपनि नेतान्याहू इजरायलको प्रमुख पार्टी लिकुडको प्रमुख र प्रतिपक्षी दलको नेताको रुपमा भने कायम रहनेछन्।
नेतान्याहू युगको अन्त्य गर्ने चाहना र राजनीतिक गतिरोधको तुलनामा थोरै समानता भएपनि दुई वर्षमा ४ वटा चुनावमा भाग लिएकाे बायाँपन्थी, केन्द्रवादी, दक्षिणपन्थी र अरब पार्टीहरूको गठबन्धन कमजोर हुने सम्भावना छ।
इजरायलको सबैभन्दा लामो समय पदमा रहेका नेतान्याहू सन् १९९६ देखि १९९९ सम्म पहिलाे कार्यकालकाे लागि प्रधानमन्त्री बनेका थिए। तर, २००९ देखि चुनावमा बारम्बार विजयी हुन नसक्दा र चलिरहेको भ्रष्टाचारको मुद्दाका कारण उनी कमजोर भएका छन्।
नेतान्याहूमाथि पनि घुस लिएको, धोकाधडी गरेको र विश्वासघात गरेको आरोपमा मुद्दा चलिरहेको छ। यद्यपि, उनले यी सबै आरोप अस्वीकार गर्दै आएका छन्।
काे हुन् बेनेट ?
बेनेटको पृष्ठभूमि राजनीतिमा आउनुभन्दा पहिला सेना र एक व्यापारीको रुपमा थियो। उनी इजरायलको विशेष बलको दुई शाखामा सैनिकको रुपमा काम गरिसकेका व्यक्ति हुन्। सेनामा सेवा दिएपछि उनले प्रविधि कम्पनी स्थापना गरेका थिए र उनले यसबाट उल्लेख्य पैसा पनि कमाएका थिए।
उनी नेतान्याहूको लिकुड पार्टीमै थिए। ४९ वर्षीय बेनेटलाई कुनै समय नेतान्याहूको बफादार मानिन्थ्यो। नेतान्याहूसँग अलग हुनुभन्दा अगाडिसम्म बेनेट सन् २००६ देखि २००८ सम्म इजरायलको चिफ अफ स्टाफको रुपमा रहेका थिए।
तर, उनी लिकुड पार्टी छाडेर दक्षिणपन्थी धार्मिक यहुदी होममा गए। सन् २०१३ को आम निर्वाचनमा उनी निर्वाचित भएर इजरायलको संसद्मा पुगेका थिएर
२०१९ सम्म प्रत्येक गठबन्धनको सरकारमा मन्त्री बनेका थिए, बेनेट। २०१९ मा उनकाे दक्षिणपन्थी गठबन्धनले एक सिट पनि पाएको थिएन। ११ महिनापछि पुनः निर्वाचन भयो र उनी यामिन पार्टीको प्रमुखको रुपमा चिर्वाचित भएर संसद्मा पुगे।
बेनेटलाई नेतान्याहूभन्दा पनि धेरै अति राष्ट्रवादी र दक्षिणपन्थी नेता मानिन्छ। बेनेट इजरायलमा प्यालेस्टाइनहरुको लागि छुट्टै राष्ट्रको मागलाई अस्वीकार गर्दै आएका छन्। अर्कोतर्फ अन्तर्राष्ट्रिय समुदायले भने दुई राष्ट्रको सिद्धान्त इजरायल र प्यालेस्टाइनको समस्या समाधानको बाटो भएको बताउँछन्।
उनी इजरायललाई एक यहुदी राष्ट्रको रुपमा वकालत गर्दै आएका छन्। साथै उनले वेस्ट बैंक, पूर्वी जेरुसलेम र सिरियाली गोलान हाइट्सलाई पनि यहुदीको इतिहासको एक भागको रुपमा बताउँदै आएका छन्। वेस्ट बैंक र पूर्वी जेरुसलेमको १४० बस्तीमा ६ लाखभन्दा धेरै यहुदी बस्छन्। यो बस्तीलाई अन्तर्राष्ट्रिय समुदायले अवैध भएको बताउँदै आएका छन्। तर, इजरायलले भने त्यसलाई अस्वीकार गर्दै आएको छ।
यी सबै क्षेत्रमा सन् १९६७ को मध्यपूर्व युद्धपछि इजरायलको नियन्त्रण छ। बेनेटले वेस्ट बैंकमा यहुदीको बसोबासको पक्षमा छन् भने साथै ययो विषयलाई लिएर उनी निकै आक्रामक पनि देखिँदै आएका छन्।
यद्यपि, उनले गाजा क्षेत्रमा भने कुनै दाबी गरेका छैनन्। सन् २००५ मा इजरायलले गाजाबाट सेनालाई हटाएको थियो। प्यालेस्टाइन र इजरायलबीच बस्ती निर्धारण सबैभन्दा विवादित मुद्दा हो।
प्यालेस्टाइनियनहरु यी बस्तीबाट यहुदीलाई हटाउनुपर्ने माग गर्दै आएका छन् र उनीहरु वेस्ट बैंक, गाजासहितको एक स्वतन्त्र मुलुकको माग गर्दै आएका छन्। यसको राजधानी पूर्वी जेरुसलेम हुने उनीहरुको भनाइ छ।
बेनेटले प्यालेस्टाइन चरमपन्थीको सामना गर्न थप कडा कदम चाल्नुपर्ने बताउँदै आएका छन्। उनी मृत्युदण्डको सजाय दिनुपर्ने वकालत गर्दै आएका छन्। यहुदी इजरायलमा सन् १९६१ यता कसैलाई पनि मृत्युदण्ड दिइएको छैन।
बेनेटले सन् २०१८ मा गाजाका प्रशासकले हमाससँग गरेको युद्धविराम सन्धीको विरोध गरेका थिए। उनले गत मे महिनामा ११ दिनसम्म हमाससँग चलेको युद्धको क्रममा मारिएका प्यालेस्टाइननै उनीहरुको मृत्युमा दोषी रहेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।