काठमाडौं- चिकित्सा शिक्षा आयोगको बैठकबाट बिएन्डसीलाई सम्बन्धन दिने निर्णय लिन लागिएपछि प्रदर्शनमा उत्रिएको बृहत् नागरिक आन्दोलनका अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ।
चोरबाटोबाट बिएन्डसीलाई सम्बन्धन दिन लागेको भन्दै प्रदर्शननमा उत्रिएका अभियान्ताहरुलाई भाटभटेनी पिपलबोटबाट प्रहरीले पक्राउ गरेको हो। लेखक खगेन्द्र संग्रौला, अनुभव अजित, लेखक तथा प्रकाशक अर्चना थापा लगायतलाई प्रहरीले पक्राउ गरेको हो।
प्रधानमन्त्रीले त्यसबारे निर्णय गर्न शुक्रबार बालुवाटारमा चिकित्सा शिक्षा आयोगको बैठक बोलाएपछि बृहत नागरिक आन्दोलनको अगुवाईमा प्रदर्शन गरिएको थियो।
बृहत् नागरिक आन्दोलनले सरकारले जनस्वास्थ्य जस्तो गम्भिर विषयमासमेत जनविरोधी र प्रतिगामी चरित्र प्रदर्शन गरिरहेको भन्दै बिरोध जनाएको छ।
'संविधान र राजनीतिमा झै यो सरकारले जनस्वास्थ्य जस्तो गम्भिरतम् विषयमा समेत जनविरोधी र प्रतिगामी चरित्र प्रदर्शन गरिरहेको छ। यसै मेसोमा सर्वोच्च अदालतको समेत निर्णय विपरित अहिले आफ्नो आसेपासे मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी यो सरकारले गरिरहेको तथ्य सार्वजनिक भएको छ । जनस्वास्थ्यको बजारीकरणलाई एक कदम अगाडि बढाउने यस्ता कृयाकलापको नागरिक आन्दोलन घृणापूर्वक भत्सर्ना गर्दछ', बृहत् नागरिक आन्दोलनको विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।