काठमाडौं- संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदक शेरबहादुर देउवा पक्षको बहस सकिएको छ। बुधबारको इजलासमा दुई वरिष्ठ अधिवक्ताको बहस सकिएसँगै चिया ब्रेक भएको छ।
वरिष्ठ अधिवक्ताहरु महादेव यादव र शम्मु थापाले बहस गरेसँगै शेरबहादुर देउवासहितको निवेदन माथिको बहस सकिएको हो।इजलासमा वरिष्ठ अधिवक्ता यादवले राष्ट्रपतिले प्रायोजित रुपमा सरकार बनाउन नचाहेर संसद विघटन गरेको बताए। यादवले अहिले सरकार नवनेको नभइ राष्ट्रपतिले वनाउन नचाहेको बताए।
यस्तै वरिष्ठ अधिवक्ता थापाले प्रतिनिधि सभामा नपुगिकन कसैले संसदमा बहुमत प्राप्त गर्न सक्दैन भनेर कसरी भन्न मिल्छ भन्दै प्रश्न गरेका छन्।
उनले प्रधानमन्त्रीमा दाबी पेश भएपछि प्रतिनिधि सभामा नपुगिकन कसैले बहुमत प्राप्त गर्न सक्छ वा सक्दैन भनेर राष्ट्रपतिले कसरी भन्न मिल्छ? भन्दै प्रश्न गरे। 'प्रतिनिधि सभामा नपुगिकन फलानोले प्राप्त गर्न सक्दैन भनेर राष्ट्रपतिले कसरी भन्न मिल्छ? यो इजलाशको ध्यानाकर्षण गराउन चाहेको केहो भने राष्ट्रपतिले प्रतिनिधि सभा बोलाएर त्यसमा निर्णय गर्नु पर्ने थियो।तर उपधारा ७ अनुसार विघटनमा जानु भयो' इजलास समक्ष थापाले भने। थापाले बहुमत सांसद संसदमा उपस्थित भएकाले अन्तरिम आदेश जारीको माग गरे।
देउवा पक्षको बहस सकिएसँगै अहिले चिया ब्रेक जारी छ। ब्रेकपछि केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन माग गरिएका चार निवेदनमाथि बहस हुनेछ। तर सरकारी पक्षलाई बहस गर्न दिने वा नदिने भन्ने अझै टुंगो लागेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।