एजेन्सी– फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ मा मा केही चर्चित खेलाडी देख्न पाइनेछैन।
आफ्नो देश छनोट हुन असफल भएपछि चर्चित खेलाडीले प्रतिष्ठित प्रतियोगिता गुमाउँदैछन्। जसमा चिलीका फरवार्ड एलेक्सिस सान्चेज तथा वेल्सका स्ट्राइकर गारेथ बेल लगायतका छन्.
विश्वकप खेल्न नपाउने चर्चित गोलकिपर स्लोभेनियाका जान ओब्लाक हुन्। २४ वर्षीय जान स्पेनिस क्लब एट्लेटिको म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्छन्। उनी ला लिगाका उत्कृष्ट गोलकिपरमा चुनिएका थिए। तर, उनको देश स्लोभेनिया विश्वकपमा छनोट हुन सकेन।
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्व राइट ब्याक एन्टोनियो भ्यालेन्सियाले पनि रसिया विश्वकप गुमाउँदैछन्। ३२ वर्षीय डिफेन्डर भ्यालेन्सियाको देश इक्वेइडर दक्षिण अमेरिकाको छनोटमा अन्तिम खेलअघि बाहिरिएको थियो। उनी गत सिजन युनाइटेडमा प्लेयर अफ दि इयर घोषित भएका थिए।
नेदरल्यान्ड्सका सेन्टर ब्याक भिर्गिल भान डिकले पनि २०१८ को विश्वकप गुमाउँदैछन्। अन्तिम खेलमा स्विडेनलाई २–० ले पराजित गरे पनि नेदरल्यान्ड्स गोलअन्तरमा पछि परेको थियो। भान इंग्लिस क्लब लिभरपुलका भरपर्दा खेलाडी हुन्। उनी यहि सिजन साउथह्याम्टनबाट लिभरपुलमा आवद्ध हुँद विश्वकै सर्वाधिक महँगा डिफेन्डर बनेका थिए।
जर्मन क्लब वार्यन म्युनिखका लेफ्ट ब्याक डेभिड अलाबाको देश अस्ट्रिया पनि विश्वकपमा छनोट हुन सकेन। गत संस्करणको युरो कप खेलेका अलाबाको विश्वकप खेल्न चाहना भने पूरा भएन। वार्यनका अर्का मिडफिल्डर अर्टुरो भिदालले पनि विश्वकप गुमाउँदैछन्। भिदालको देश चिली निर्णायक खेलमा ब्राजिलसँग पराजित भई विश्वकप पुग्नबाट रोकियो।
रियल म्याड्रिडका फरवार्ड गारेथ बेलको देश वेल्स समूहमा तेस्रो भन्दै विश्वकप छनोटबाट बाहिरियो। वेल्सलाई आयरल्यान्ड गणतन्त्रले तेस्रो स्थानमा धकेलेको थियो। बेलको प्रेरणामा वेल्सले गत वर्ष युरो कपमा सेमिफाइनलको यात्रा गरेको थियो। तर, यसपटक बेलले वेल्सलाई छनोट गराउन सकेनन्।
अमेरिका सन् १९८६ पछि विश्वकपमा छनोट हुन नसक्दा युवा खेलाडी क्रिस्टयन पुलिसिकलाई ठुलो चोट पर्यो। जर्मन क्लब बोरुसिया डर्टमुन्डमा उत्कृष्ट लयमा रहेका आक्रमक मिडफिल्डर पुलिसिकले रसिया विश्वकप गुमाउँदैछन्।
पुलिसिक जस्तै चिलीका मिडफिल्डर एलेक्सिस सान्चेजलाई पनि विश्वकपमा देख्न पाइनेछैन। इंग्लिस क्लब आर्सनलमा आबद्ध सान्चेज रसिया विश्वकप गुमाउने चर्चित खेलाडीमा पर्छन्।
जर्मन क्लब बोरुसिया डर्टमुन्डका पियरी इमेरिक एउबामेयाङ पनि विश्वकप गुमाउने चर्चित खेलाडी हुन्। लयमा रहेका फरवार्ड पियरीको देश गाबोन अफ्रिकी छनोटबाट बाहिरिसकेको छ। पियरी गत वर्ष अफ्रिकाको वर्ष खेलाडी चुनिएका थिए।
यता पूर्व विश्व विजेता इटाली पनि विश्वकपमा छनोट हुन नसक्दा उसका चर्चित खेलाडीले विश्वकप गुमाउँदैछन्। स्पेनिस क्लब भ्यालेन्सियाबाट व्यावसायिक खेल खेल्दै आएका फरवार्ड जाजा, युभेन्टसका डिफेन्डर चिलेनी लगायतका खेलाडीको रसिया विश्वकप खेल्ने चाहाना पूरा हुन सकेन।
विश्वकप खेल्न नपाउने अन्य चर्चित खेलाडी
जास्पर कालिसेन– नेदरल्यान्ड्स/बार्सिलोना
मारेक हाम्सिक– स्लोभाकिया/नेपोली
हेनरिक म्खितार्यन– अर्मेनिया/म्यानचेस्टर युनाइटेड
अर्जेन रोबेन– नेदरल्यान्ड्स/वार्यन म्युनिख
रियाद माहरेज– अल्जेरिया/लेस्टर सिटी
इडिन जेको– बोस्निया एन्ड हर्जगोभिना/रोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।