काठमाडौं। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा पक्राउ परेपछि नेकपा एमालेका नेता गोकुल बास्कोटाले सरकारको कदममाथि प्रश्न उठाएका छन्।
जबरालाई काठमाडौंको महाराजगञ्जस्थित निवासबाटै पक्राउ गरिएको खबर सार्वजनिक भएपछि बास्कोटाले सामाजिक सञ्जालमार्फत पक्राउको कानुनी आधारमाथि प्रश्न गरेका हुन्।
‘पक्राउ पुर्जीबिना त्यो पनि पूर्वप्रधानन्यायाधीश गिरफ्तार ? कतै सत्तारुढ दलभित्रै पाकिरहेको खिचडीको खेल त हैन? जेन्जी खतरा भए त सुरक्षा पो दिने होला। पशुपति जाने!’ उनले भनेका छन्।
प्रहरी स्रोतका अनुसार जबरालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेको हो। यद्यपि उनलाई कुन कसुरमा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले तत्काल स्पष्ट जानकारी सार्वजनिक गरेको छैन।
जबराविरुद्ध २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएको थियो। प्रस्ताव दर्तापछि उनी स्वतः निलम्बनमा परेका थिए। पछिल्लो समय सर्वोच्च अदालतको संवैधानिक इजलासले महाअभियोगसम्बन्धी रिट खारेज गर्दै महाअभियोगको औचित्य समाप्त भएको ठहर गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।