काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउप्रति आपत्ति जनाएका छन्।
सोमबार सिंहदरबारस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले विशिष्ट व्यक्तिलाई बिना कारण पक्राउ गर्ने क्रम दोहोरिए सरकारका लागि गम्भीर परिणाम आउने चेतावनी दिए।
उनले जबरालाई पक्राउ गर्नुको सट्टा सुरक्षा चुनौती भए सुरक्षा व्यवस्था थप गर्नुपर्ने बताए। ‘सुरक्षा थ्रेट’ देखाएर पक्राउ गरिएको भए त्यसको औचित्यबारे प्रश्न उठाउँदै दाहालले सरकारको कदमले न्यायालयलाई तर्साउने प्रयासको सन्देश जान सक्ने टिप्पणी गरे।
‘छोरी पिटेर बुहारी तर्साउन खोजेको हो भने त्यो सरकारकै लागि घातक हुन्छ,’ दाहालले भने।
जबरालाई आइतबार राति काठमाडौंको महाराजगञ्जस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। उनलाई नियन्त्रणमा लिनुको कानुनी आधार र आरोपबारे प्रहरीले विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन। प्रहरीले भने सुरक्षा थ्रेटपछि उनलाई टेकु ल्याइएको बताएको छ।
यसैबीच दाहालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेको सम्बोधन मुलुकले भोगिरहेको परिस्थितिको सन्दर्भमा स्वाभाविक रहेको प्रतिक्रिया दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।