सिओल– अमरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली प्रमुख नेता किम जोङ उनबीच हुने भनिएको शिखर वार्तामा दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इन पनि सहभागी हुनसक्ने दक्षिणका अधिकारीहरुले बताएका छन्।
शिखर वार्ताको वातावरण बनाउन अमेरिका र उत्तर कोरियाका राष्ट्रप्रमुखसँग निरन्तर सम्पर्कमा रहेको र वार्ताको लागि मुनको उपस्थिती महत्वपूर्ण हुने दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लु हाउसले जनाएको छ।
ट्रम्प–उनबीचको भेटवार्ता सिंगापुरमा आगामी जुन १२ का लागि तोकिएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले एकल रुपमा वार्ता स्थगित गर्दै उत्तर कोरियालाई पत्र लेखेपछि अनिश्चित बनेको थियो। तर गत शनिबार दक्षिणका राष्ट्रपति मुनले उत्तर कोरियाली नेता किमलाई आकस्मिक भेट गरेपछि पुनः दुवै देश तोकिएकै समयमा भेट गर्न सहमत भएका हुन्।
तयारीका लागि अमेरिकी प्रतिनिधिमण्डल उत्तर कोरियामा
भेटको तयारीका लागि केही अमेरिकी अधिकारीहरु सम्मिलित प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको छ। भेटवार्ताको लागि आन्तरिक तयारी सुरु भएको दुवैतर्फका अधिकारीहले जनाएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार ट्विटमा लेखेका छन्,‘अमेरिकाको एक प्रतिनिधिमण्डल आज उत्तर कोरिया पुगेको छ। यसले वार्ताको तयारीका लागि आवश्यक कुराकानी गर्नेछ।’
उनले ट्विटमा उत्तर कोरियाको लागि यो निकै महत्वपूर्ण अवसर भएको टिप्पणी गरेका छन्। ‘मेरो अनुभवका आधारमा भन्दैछु कि उत्तर कोरियासँग आफ्नो देशको सम्पन्नताका लागि निकै ठूलो अवसर छ र यसबाट उसको अभूतपूर्व परिवर्तन हुन सक्छ। यस विषयमा उत्तर कोरियाली नेता किम जोङ उन ‘कन्भिन्स’ हुनुभएको छ। यसबारे हामीले कुराकानी पनि गरिसकेका छौँ।’, ट्रम्पको ट्विटमा लेखिएको छ।
तर सो प्रतिनिधिमण्डलमा को वा कुन तहका अधिकारीहरु सहभागी छन् भन्ने बारेमा भने केही बताइएको छैन। तर अमेरिकी प्रमुख अखबार वासिङ्टन पोष्टको आइतबारको संस्करणमा उक्त भ्रमणको पुष्टि गरिएको छ।
उक्त अखबारले अमेरिकी अधिकारी सम्मिलित एक प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको र उत्तर कोरियाको उत्तरी भागमा रहेको सैन्यविहीन क्षेत्रमा दुई देशका अधिकारीहरुले भेटवार्ता थालेको लेखेको छ। उक्त वार्ता सोमबार र मङ्गलबारसम्म पनि निरन्तर रहनसक्ने पनि बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।