याङगुन– म्यानमारले बङ्गलादेशमा शरणार्थीका रूपमा पुगेका ६२ रोहिंग्या शरणार्थीलाई राखिन राज्यस्थित ङखुया शिविरमा स्वागत गरेको यहाँको वाणिज्य दूतको कार्यालयले आइतबार बताएको छ।
फिर्ता भएका रोहिंग्या शरणार्थीमध्ये ५८ जना म्यानमारका राष्ट्रपतिद्वारा कैदी जीवन मिनाहामा परेका व्यक्ति रहेका छन् भने चार जना जेलबाट रिहा भएका व्यक्ति रहेका छन्।
उनीहरू केही समय पहिले सरकारी प्रक्रियालाई वेवास्ता गर्दै आफ्नै तहबाट स्वदेश फर्केका भएपनि म्यान्मार पुगेपछि पक्राउ परेपछि उनीहरूलाई जेलमा राखिएको थियो।
तर राष्ट्रपतिले उनीहरूलाई कैदी जीवन क्षमादान दिएपछि शनिबार उनीहरूलाई रखाइनको शिविरमा पुर्याइएको थियो।
‘म्यानमार–बङ्गलादेश सहमति अनुसार फिर्ता भएका रोहिंग्या समुदायका केही व्यक्तिलाई आवश्यक प्रमाणीकरण प्रक्रियापछि ह्लाफो खाउङ शरणार्थी शिविरमा लगिने छ,’ महावाणिज्य दूतावासको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
म्यानमार र बङ्गलादेशबीच राखिन राज्यबाट विस्थापित भई शरणार्थीका रूपमा बङ्गलादेशको विभिन्न क्षेत्रमा बसोबास गर्दै आएका रोहिंग्या समुदायलाई फिर्ता गराउन गत वर्षको नोभेम्बर २३ मा सम्झौता भएको थियो।
म्यानमारले प्रमाणीकरण प्रक्रिया पुरा गरी फिर्ता हुने रोहिंग्या शरणार्थीलाई दुई छुट्टै शिविरमार्फत भित्राउने व्यवस्था गरेको छ।
अराकन रोहिंग्या मुक्ति सेनाले गत वर्षको अगष्ट २५ मा राखिन राज्यस्थित प्रहरी चौकीहरूमा आक्रमण गरेपछि सरकारी पक्षबाट भएको कारबाही छल्दै ठूलो सङ्ख्यामा रोहिंग्या समुदायका युवा तथा बालबालिकाहरू बङ्गलादेश पुगेका थिए। सञ्चारमाध्यमले जनाए अनुसार म्यान्मारबाट करिब सात लाख नागरिक विस्थापित बनेका थिए। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।