काठमाडाैं- भारतीय चिकित्सा संघ (इन्डियन मेडिकल एसोसिएशन/आईएमए)ले योगगुरु रामदेवलाई ‘मानहानि’को ‘नोटिस’ पठाएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार ‘एलोपेथी’ चिकित्सकहरूविरुद्ध अपमानजनक टिप्पणी गरेको भन्दै १५ दिन भित्र माफी माग्न भनिएको छ। माफी नमागे हजार करोड भारु क्षतिपूर्ति दिन माग गरिएको छ।
आईएमए (उत्तराखण्ड) सचिव अजय खन्नाले आफ्ना वकिल नीरज पाण्डेमार्फत रामदेवलाई ६ पृष्ठको नोटिस पठाएका हुन्।
नोटिसमा रामदेवको टिप्पणीले एलोपेथी र आईएमएसँग सम्बन्धित दुई हजारभन्दा बढी चिकित्सकहरुको छवि र प्रतिष्ठामा चोट पुर्याएको जनाइएको छ।
आईपीसीको धारा ४९९ अन्तर्गत रामदेवको टिप्पणी ‘फौजदारी कार्य’ भएको भन्दै १५ दिनभित्र लिखित माफी माग्नु आग्रह गरिएको हो। अन्यथा आईएमएका प्रत्येक सदस्यलाई ५० लाख भारु क्षतिपूर्तिस्वरुप दिन माग गरिएको छ।
‘एलोपेथी एक मूर्ख र दिवालिया विज्ञा हो जसका कारण लाखौं मानिस मरिरहेका छन्’, रामदेवले भनेका थिए।
उनले भारतको औषधि नियामक संस्थाले अनुमति दिएको रेमडिसिभिर तथा फाभीफ्लुजस्ता औषधिले कोरोना संक्रमितको उपचार गर्न असक्षम भएको पनि दाबी गरेका थिए।
रामदेवको भनाइले भारतीय समाजलाई नोक्सानी पुर्याउने टिप्पणी हुन थालेको छ। यसअघि अक्सिजन अभावमै मानिसहरुकोे मृत्यु भइरहँदा संसारभर भगवानले अक्सिजन दिएता पनि आज मानिसहरु अक्सिजन लिनै नसक्ने अवस्थामा पुगेको उनले बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।