काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)को बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले शनिबार कार्यकारिणी समितिको बैठकमार्फत् महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लामाथि ७२ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गर्यो। बाबुराम–उपेन्द्र पक्षले जसपाका चार जना नेतालाई स्पष्टीकरणको पत्र आइतबार पठाउने तयारी गरेको छ।
पार्टीमा अनुशासन उल्लंघन गरेको गरेको भन्दै चार जनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको पार्टी कार्यालय प्रमुख प्रकाश अधिकारीले बताए। जसपाको संसदीय दलको विधान नभएर कसरी दलको नेता चयन भयो? लगायत धेरै प्रश्न सोधेर स्पष्टीकरण पत्र पठाउने तयारी भइरहेको अधिकारीले बताए।
‘कार्यकारिणी समितिको बैठकले चार जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय भएको छ। उहाँहरुले त्यसको जवाफ दिनुहुनेछ। त्यसपछि प्रक्रिया के हुन्छ पार्टीले निर्णय गरेपछि मात्रै भन्न सकिन्छ’ अधिकारीले भने।
स्पष्टीकरण सोधिएकामध्ये एक जना जसपाका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले पत्र प्राप्त भएपछि सल्लाह गरेर मात्रै जवाफ दिने/नदिने केही भन्न सकिने बताए।
‘अहिलेसम्म पत्र प्राप्त भएको छैन। पहिला पत्र आओस्। त्यो पत्रमा के सोधिएको छ? त्यसपछि केही भन्न सकिएला’ कर्णले भने, ‘एक जनालाई मात्रै सोधिएको छैन। चार जना नेतालाई सोधिएको छ। पार्टीमा सल्लाह गरेर मात्रै जवाफ दिने वा नदिने भन्न सकिएला।’
आफूले पार्टी विधान र घोषणापत्रमा रहेर आन्दोलनका माग पूरा गराउन प्रयास गरेको उनले प्रतिक्रिया दिए। मधेश आन्दोलनका माग पूरा गराउन टिममा बसेको बताउँदै कर्णले आफूले गरेको काम पार्टी नीति विपरीत हो भने पार्टीको नीति के हो? भन्दै प्रश्न गरे।
‘हामी सबै मिलेर ६ महिना आन्दोलन गर्याैं। बाबुरामजी थिएनन्, उपेन्द्रजी साथै थिए। त्यही माग पूर्ति गराउनका लागि प्रयास गरेको हो’ कर्णले भने, ‘मधेश आन्दोलनमा उठेका कतिपय माग पूरा भइसकेका छन्। कतिपय प्रक्रियामा छन्।’
मधेश आन्दोलनमा उठाएका माग पूरा नगर्ने हो भने पार्टीको नीति के हो स्पष्ट पार्नुपर्ने बताए। आफूहरुले मधेशी, मुस्लिम, जनजाति, थारु लगायत शाेषित, पीडित पक्षमा काम गरेको विषयलाई अन्यथा नलिन कर्णको चेतावनी छ।
सम्बन्धित समाचार :
महन्थ र राजेन्द्रसहित ४ नेतालाई स्पष्टीकरण सोध्ने जसपाको निर्णय
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।