काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले रोजीरोटीका लागि दिनरात मिहिनेत गर्ने श्रमिकको रगत र पसिनामाथि खेलवाड गर्ने कसैलाई सरकारले नछाड्ने बताएका छन्।
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री विष्टले विभिन्न क्षेत्रमा काम गर्ने मजदुरको आर्थिक समृद्धि र देश विकासमा महत्वपूर्ण भूमिका रहने बताए। श्रम मन्त्रालय श्रमिकहरुको अभिभावक भएकाले संरक्षण गर्ने दायित्व मन्त्रालयकै भएको जनाउँदै मन्त्री विष्टले सरकारले देश–परदेशमा छरिएर परिश्रम गरिरहेका सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याई सुरक्षा, बिमा र अन्य सेवा सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाए।
वैदेशिक रोजगारीमा जाने युवालाई नेपाल सरकारले तलब निर्धारण गरेर मात्र श्रम स्वीकृति जारी गर्ने तयारी गरिरहेको उनको भनाइ थियो। राज्यले आगामी ५ वर्षभित्र जसरी भए पनि वाध्यताकारी वैदेशिक रोजगारको अन्त्य गर्ने मन्त्री विष्टले दाबी गरे। कामदारलाई दुःख दिने र तिनै कामदारलाई लुटेर कमाएको पैसाले 8मा विकृति फैलाउने तत्वलाई निराकरण गरेर मजदुरमैत्री ऐन, नियम कार्यान्वयनमा ल्याउने तयारीमा मन्त्रालय रहेको उनले जानकारी दिए।
आगामाी एक वर्षपछि वैदेशिक रोजगारमा जाने कामदार ४० प्रतिशतभन्दा बढीले घट्ने उनले बताए। देशमा कलाकारखाना र अन्य उद्योग खुल्ने क्रम बढ्दै गएकाले कामको खोजीमा विदेशिने कामदारको संख्या वार्षिक रुपमा घट्दै जाने मन्त्री विष्टको भनाइ थियो।
‘अबको सरकार रेमिट्यान्समा भर पर्दैन,’ मन्त्री विष्टले भने, ‘यसअघि रेमिट्यान्सको लेखाजोख हुँदै आएको थियो, अब त्यतातिर सरकारले ध्यान नदिई आन्तरिक श्रम बजारको प्रवद्र्धन गरी स्वदेशमै हुने कमाइका विषयमा जनतालाई अवगत गराउँछ।’
हाल वैदेशिक रोजगार क्षेत्रका भइरहेका विकृतिको सरकारले पहिचान मात्र गरिरहेको जनाउँदै उनेले भने, ‘अध्ययनपछिको रिजल्ट कस्तो आउँछ त्यही अनुसार अबको केही महिनामा सबैले देख्ने गरी काम हन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।