काठमाडौं– अध्ययन बिदा लिएर विश्वविद्यालयको सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालयका शिक्षक तथा कर्मचारीबाट विश्वविद्यालयले १६ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम असुल गरेको छ।
त्रिवि रजिष्ट्रारको कार्यालयअन्तर्गत कर्मचारी प्रशासन महाशाखाका अनुसार हालसम्म ७५ वटा केसबाट करिब १६ करोड ५० लाख रुपैयाँ असुलउपर भइसकेको हो।
विश्वविद्यालयले अध्ययन बिदा लिएपछि सेवामा नफर्किएका तथा फर्किए पनि तोकिएको सेवा अवधि पूरा नगरेका शिक्षक–कर्मचारीबाट विश्वविद्यालयलाई बुझाउनुपर्ने रकम असुल गर्दै आएको छ। अध्ययन बिदाको अवधिमा विश्वविद्यालयबाट लिएको तलब, भत्ता तथा अन्य सुविधामा नियमानुसार हर्जानासमेत जोडेर रकम निर्धारण गरिने त्रिविले जनाएको छ।
हिसाब भएका केसमा मात्रै २१ करोड ५० लाख
त्रिविले अध्ययन बिदासँग सम्बन्धित थप केसको अभिलेख खोज्ने र रकमको हिसाब निकाल्ने कामसमेत अघि बढाएको छ।
विश्वविद्यालयका अनुसार हालसम्म हिसाब–किताब तयार भएका थप केसमा करिब २१ करोड ५० लाख रुपैयाँ असुल गर्नुपर्ने देखिएको छ। सम्पर्कमा आएका शिक्षक तथा कर्मचारीका व्यक्तिगत अभिलेख खोजी गरी अध्ययन गर्ने र विश्वविद्यालयलाई बुझाउनुपर्ने रकम यकिन गर्ने काम भइरहेको त्रिविले जनाएको छ।
यसले अध्ययन बिदा लिएर सेवामा नफर्किने वा सम्झौताअनुसार सेवा अवधि पूरा नगर्ने शिक्षक–कर्मचारीबाट रकम असुल गर्ने त्रिविको अभियान अझै जारी रहेको देखाएको छ।
पुस मसान्तसम्म सम्पर्क गर्न मौका
त्रिविले अध्ययन बिदा उपभोग गरेपछि नियमअनुसार सेवामा नफर्किएका वा तोकिएको सेवा अवधि पूरा नगरेका शिक्षक तथा कर्मचारीलाई २०८३ साल पुस मसान्तभित्र रजिष्ट्रारको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।
सम्बन्धित व्यक्तिले [email protected] मार्फत समेत सम्पर्क गर्न सक्ने विश्वविद्यालयले जनाएको छ।
तोकिएको अवधिभित्र सम्पर्क नगरेमा विश्वविद्यालयसँग गरिएको कबुलियतनामा तथा प्रचलित विश्वविद्यालय नियमअनुसार कानुनी कारबाही अघि बढाइने त्रिविले स्पष्ट पारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।