काठमाडौं– चीनतर्फको सीमामा रोकिएको सामान नेपाल भित्र्याउन स्वीकृति मिलाइदिने भन्दै २८ लाख रुपैयाँभन्दा बढी घुस असुलेको आरोपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारी, बसन्त कुमार बस्याल क्षेत्री, सुरेश चौधरी र रश्मिता श्रेष्ठविरुद्ध सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
अख्तियारका अनुसार अधिकारीले खाद्य आयातसम्बन्धी स्वीकृति तथा विभागबाट हुने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ह्वाट्सएपमार्फत रकम माग गरेका थिए। अनुसन्धानका क्रममा उनले आफ्नो पदको दुरुपयोग गर्दै अन्य तीन जनासँगको मिलेमतोमा कम्पनी, उद्योग तथा भन्सार एजेन्टसँग सम्बन्धित व्यक्तिबाट रकम उठाएको आयोगको दाबी छ।
अनुसन्धानबाट घुस रकम विभिन्न व्यक्तिका बैंक खाता तथा क्यूआरमार्फत लिएको खुलेको अख्तियारले जनाएको छ। अधिकारीको नेपाल बैंक खातामा २५ हजार र प्रभु बैंक खातामा १ लाख १४ हजार रुपैयाँ जम्मा भएको पाइएको छ।
त्यस्तै बस्याल क्षेत्रीको माछापुच्छ्रे बैंक खातामा ८ लाख ९४ हजार ५००, श्रेष्ठको ग्लोबल आईएमई बैंक खातामा १४ लाख ९३ हजार ३७५ र चौधरीको प्रभु बैंक खातामा २ लाख ६९ हजार रुपैयाँ जम्मा भएको अख्तियारले जनाएको छ।
चारै जनाको खातामा गरी कुल २८ लाख २० हजार ३७५ रुपैयाँ घुसबापत जम्मा भएको पुष्टि भएको आयोगको दाबी छ। उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अनुसार कारबाही र सजायको माग गर्दै मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।