काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनले पार्टी संगठनमा युवाको ठूलो उपस्थिति देखाएको छ। नयाँ व्यवस्थाअनुसार देशभर ३५ वर्षमुनिका झण्डै ४४ हजार युवा विभिन्न पदमा निर्वाचित भएका छन् भने करिब एक लाख युवा ती पदका लागि प्रतिस्पर्धामा उत्रिएको कांग्रेसले जनाएको छ।
कांग्रेसको विधान मस्यौदा समितिका सदस्य सचिव प्रताप पौडेलका अनुसार नयाँ विधानमा ३५ वर्षमुनिका युवालाई वडा तहदेखि नै पार्टी संरचनामा अनिवार्य प्रतिनिधित्वको व्यवस्था गरिएको छ। उनका अनुसार एकैपटक यति ठूलो संख्यामा युवाले पार्टीभित्र पदाधिकारी तथा प्रतिनिधिका रूपमा जिम्मेवारी पाएको यो पहिलो घटना हो।
कांग्रेसका ६ हजार ७४३ वडाबाट कम्तीमा तीन जनाका दरले २० हजार २२९ जना युवा क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित भएका छन्। क्रियाशील सदस्यको संख्याका आधारमा कतिपय वडाबाट सात जनासम्म युवा क्षेत्रीय प्रतिनिधि निर्वाचित हुन सक्ने व्यवस्था भएकाले औसत पाँच जनाका दरले हिसाब गर्दा यो संख्या ३३ हजार ७१५ पुग्ने पौडेलले बताए।
त्यस्तै गाउँपालिकाका वडाबाट एक जना र नगरपालिकाका वडाबाट दुई जनाका दरले युवा वडा कार्यसमिति सदस्य निर्वाचित भएका छन्। गाउँपालिकातर्फका ३ हजार २१५ वडाबाट ३ हजार २१५ र नगरपालिकाका ३ हजार ५२८ वडाबाट ७ हजार ५६ जना गरी १० हजार २७१ युवा वडा सदस्य बनेका छन्।
यसरी ३३ हजार ७१५ क्षेत्रीय प्रतिनिधि र १० हजार २७१ वडा सदस्य गरी ४३ हजार ९८६ युवाले संगठनमा औपचारिक जिम्मेवारी पाएको कांग्रेसले जनाएको छ।
पदभन्दा ठूलो प्रतिस्पर्धाको संख्या
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालका अनुसार निर्वाचित युवाको संख्याभन्दा कम्तीमा दोब्बर युवा विभिन्न पदमा उम्मेदवार बनेका थिए। त्यस आधारमा महाधिवेशन प्रक्रियामा झण्डै एक लाख युवाले प्रतिस्पर्धा गरेको उनले बताए।
यिनै क्षेत्रीय प्रतिनिधिमध्येबाट गाउँपालिका तथा नगरपालिकाको कार्यसमितिमा एक महिलासहित कम्तीमा तीन जना चयन भएका छन्। प्रदेश निर्वाचन क्षेत्रको कार्यसमितिमा एक जना, संघीय निर्वाचन क्षेत्रको कार्यसमितिमा दुई जना र जिल्ला कार्यसमितिमा एक महिलासहित तीन जना निर्वाचित हुने व्यवस्था छ।
त्यस्तै हरेक संघीय निर्वाचन क्षेत्रबाट कम्तीमा एक महिलासहित तीन जनाका दरले देशभर ४९५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रत्येक निर्वाचन क्षेत्रबाट एक जनाका दरले १६५ जना महासमिति सदस्य चयन हुने कटुवालले जानकारी दिए।
नयाँ विधानले हरेक निर्वाचन क्षेत्रबाट एक महिलासहित दुई जना प्रदेश प्रतिनिधिको व्यवस्था गरेको छ। सातै प्रदेशमा दुई महिलासहित कम्तीमा पाँच जना प्रदेश कार्यसमिति सदस्य हुनेछन्।
केन्द्रीय कार्यसमितिमा समेत पहिलोपटक प्रत्येक प्रदेशबाट एक युवा र एक युवती गरी १४ जना युवाको प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ।
विधान मस्यौदा समितिका सदस्य सचिव पौडेलले ठूलो संख्यामा युवाले उम्मेदवारी दिनु र जिम्मेवारीमा आउनुले कांग्रेसको संगठनमा युवाको उपस्थिति बढेको बताए। उनले कांग्रेस अब युवाको ठूलो सहभागितासहित अघि बढेको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।