सिरहा– सिरहाको गोलबजार–चोहर्वामा भएको हिन्दू–मुस्लिम विवादसँग सम्बन्धित घटनामा पक्राउ परेकाहरूको रिहाइ माग गर्दै स्थानीयवासी तथा हिन्दू सम्राट सेनाको सहभागितामा आन्दोलन सुरु भएको छ ।
साउन १४ गते गोलबजार क्षेत्रमा भएको प्रदर्शन तथा झडपको पृष्ठभूमि सुनसरीको देवानगञ्जमा हिन्दू–मुस्लिम समुदायबीच उत्पन्न तनावसँग जोडिएको थियो । उक्त घटनाको असर मधेसका विभिन्न क्षेत्रमा फैलिँदै गोलबजारसम्म पुगेपछि अवस्था तनावग्रस्त बनेको थियो ।
गोलबजारमा प्रदर्शनका क्रममा तोडफोड र आगजनीसमेत भएको थियो भने गोली लागेर १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो ।
घटनाका क्रममा चौहर्वा जामे मस्जिदसहित विभिन्न संरचनामा तोडफोड तथा आगजनी भएको थियो । प्रहरीको प्रारम्भिक मूल्यांकनअनुसार १८ वटा पसल तथा व्यावसायिक संरचना, १५ वटा निजी घर, २८ वटा सवारीसाधन तथा धार्मिक–शैक्षिक संरचनासहित ६४ वटा सम्पत्तिमा क्षति पुगेको थियो । कुल क्षति रु. ७४ करोड १३ लाख ९० हजार बराबर रहेको प्रहरीले जनाएको थियो ।
घटनापछि प्रहरीले विभिन्न स्रोतबाट संकलन गरेका फोटो तथा भिडियोका आधारमा अनुसन्धान अघि बढाएको छ। पछिल्लो समय घटनामा संलग्न भएको आरोपमा केही व्यक्तिहरू पक्राउ परेपछि उनीहरूको रिहाइको माग उठेको हो ।
एक स्थानीय स्रोतमा घटनामा संलग्न ४६ जनामाथि कारबाहीका लागि सूची तयार भएको दाबीसमेत गरिएको छ । यद्यपि उक्त संख्या र पक्राउसम्बन्धी विवरणलाई आधिकारिक रूपमा स्वतन्त्र पुष्टि गर्न सकिएको छैन ।
पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्नुपर्ने मागसहित प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन् । उनीहरूले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, निर्दोषलाई फसाउन नहुने तथा वास्तविक दोषीमाथि मात्र कानुनी कारबाही गर्नुपर्ने माग अघि सारेका छन् ।
यस घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले समेत छुट्टै छानबिन समिति गठन गरेको थियो। समितिले घटनास्थलको निरीक्षण, प्रमाण संकलन तथा स्थानीय र विभिन्न समुदायका प्रतिनिधिसँग छलफल गरेको विवरण सार्वजनिक भएको छ ।
गोलबजारमा पुनः आन्दोलन सुरु भएपछि स्थानीय क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । विगतको घटनाबाट सिर्जित तनाव फेरि नबढोस् भन्दै प्रशासनले सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।