काठमाडौं– ३८ सय किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त भनिएका चुडामणी उप्रेती ‘गोरे’को तेस्रो दिन पनि बयान सकिएको छैन। शुक्रबार बयान नसकिएपछि जिल्ला अदालत मोरङले आइतबारलाई पनि बयान निरन्तर राखेको छ।
शुक्रबार बयान टुंग्याउने गरी अदालतको समयभन्दा एक घन्टा बढी (४ बजेसम्म) बयान लिने कार्य गरिँदा पनि नटुंगिएको अदालतले जनाएको छ। बयान २७ पृष्ठ पुगेको छ।
मंगलबार काठमाडौंबाट पक्राउ परेका गोरेको बयान जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको ६ नम्बर इजलाशमा बुधवारदेखि जारी छ। उनीमाथि लगाइएको अभियोगको प्रमाणका रुपमा प्रस्तुत गरिएको भिडियो देखाउने कार्य आइतबार गरिने मोरङ जिल्ला अदालतले जनाएको छ।
आइतबार बयान सकेर त्यसैदिन थुनछेक बहस समेत गर्ने तयारी गरिएको मोरङ जिल्ला अदालतका तहसिलदार केदार गौतमले जानकारी दिए। उनले अदालतमा भएको बयान न्यायाधीशबाट प्रमाणित समेत नभएको अवस्थामा अदालतको श्रोत भन्दै जथाभावी समाचार प्रकाशन र प्रसारण नगरिदिन आग्रह पनि गरे।
यसैबीच, सोही प्रकरणमा गोरेको पोलपछि पक्राउ परेका उर्लाबारीका नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता रेवन्त आचार्यलाई अदालतले ७ दिन म्याद थप गरेको छ। उनलाई गए राति उर्लाबारीबाट पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए।
गोरेलाई मुख्य अभियुक्तका रुपमा हेरिएकाले उनले दिने बयानमा थप संलग्न व्यक्तिहरुको खुलासा हुने भएकाले यो बयानलाई अन्य व्यक्तिको पोल खुल्ने रुपमा हेरिएको छ।
यसअघि सुन तस्करीका ३० प्रतिवादीको मुद्दामा पनि शर्माले नै थुनछेक बहस गरेका थिए। न्यायाधीश शर्माको इजलाशले मंगबार ३० अभियुक्त मध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने, एक जनालाई धरौटी र एक जनालाई सामान्य तारेखमा राख्ने आदेश गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।