जाजरकोटमा कोरोना संक्रमणबाट निधन एक जनप्रतिनिधिको अन्तिम संस्कारमा सहभागी सर्वसाधारण। उनीहरुले मास्कको प्रयोगसहितका कुनै पनि मापदण्ड पालना गरेका थिएनन्। तस्वीर–हेमन्त केसी/रासस
काठमाडौं- सिन्धुपाल्चोकको चौतारा नगरपालिकाका केही क्षेत्र गत वैशाख २२ गते 'सिल' गरियो। कदमवासमा एकैदिन २४ जना र कुभिण्डेमा ३० जना संक्रमित भेटिएपछि नगरपालिका क्षेत्र सिल गरिएको थियो। कुभिन्डेमा दुई जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका थिए भने कदमवासकी एक महिलाको कोरोनासँग मिल्ने लक्षण देखिएर मृत्यु भएको थियो।
त्यसको दुई दिनपछि सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकास्थित साविक ठूलोसिरुवारी गाविसमा एकैदिन ३३ जना संक्रमित फेला परे। सिन्धुपाल्चोकमा ७० जनालाई कोरोना देखिँदा ठूलो सिरुवारीमा मात्रै ३३ जना संक्रमित भेटिए।
सिन्धुपाल्चोकको मेलम्ची नगपालिकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मेलम्ची बजार लगायत आसपासका क्षेत्रलाई जेठ ३ देखि सिल गरिएको छ।
कोरोनाभाइरसको दोश्रो लहरबाट मेलम्ची नगरपालिका-११ निवासी ७६ वर्षीय एक पुरुषको जेठ ३ गते निधन भएको थियो। नगरभित्र ५० जना सक्रिय संक्रमित रहेका छन् भने ३.जनाले ज्यान गुमाएका छन्।
सिन्धुपाल्चोक अहिले गाउँ-गाउँमा कसरी कोरोना विस्तार भइरहेको छ भन्ने पछिल्लो चित्र हो। सिन्धुपाल्चोक मात्र होइन, धेरै जिल्लामा कोरोना भूसको आगोजस्तै विस्तार भइरहेको छ। शहरी क्षेत्रमा निषेधाज्ञा लागू गरी त्यसको पालनामा कडाइ गरिएपनि ग्रामिण क्षेत्र भने निस्फिक्री छन्।
यसरी गाउँ-गाउँमा संक्रमण फैलिनुमा तीन वटा कारण देखिएको छ। शुरुमा कोरोना संक्रमित धेरै भएका काठमाडौं लगायत क्षेत्रबाट निषेधाज्ञा हुनुअघि गाउँ–गाउँमा मानिसहरुलाई आउन सहजता दिइयो। उनीहरु गत वर्षझैं लामो अवधि बन्द हुने अनुमानका साथ गाउँ पुगे। दोस्रो, गाउँघरमा विवाह, मलामी जस्ता कार्यक्रममा ठूलो जमघट हुँदा संक्रमण विस्तार भएको चिकित्सकहरु बताउँछन्। तेस्रो, परीक्षण समयमा भएन, जसले गर्दा यसले फैलने मौका पायो।
सिन्धुपाल्चोकको कदमवास र कुभिण्डेमा एक वृद्धको मृत्युपछि मलामी जाँदा गाउँ नै संक्रमित भएको पाइएको थियो भने ठूलो सिरुवारीमा पनि यस्तै भएको थियो। मेलम्चीमा विवाह भोजमा सहभागी भएका अधिकांश व्यक्तिमा संक्रमण पुष्टि भएको थियो। त्यस्तै, जिल्लाका अन्य क्षेत्रहरुमा पनि यस्तै घटनाका कारण संक्रमण फैलिएको देखिएको छ।
कोरोना संक्रमणबाट भर्खर मुक्त भएका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेल पनि काठमाडौंबाट फर्किएका व्यक्तिहरुबाट शुरु भएको संक्रमण गाउँमा भोजभतेर र मलामी जस्ता क्रियाकलापले विस्तार भएको बताउँछन्।
तातोपानी कुण्ड स्नानका लागि पुगेकाबाट कोरोना विस्तार!
म्याग्दीको बेनी नगरपालिका–४ मा पर्ने सिंगा र तातोपानी क्षेत्र कोरोना संक्रमणको केन्द्र बनेको छ। तातोपानी कुण्ड स्नानका लागि आएका पाहुनामार्फत् भित्रिएको कोरोना भोजभतेर र जमघटबाट टोल, बस्ती हुँदै विस्तार भएको छ।
सिंगाका वडाध्यक्ष गोविन्द पौडेलका अनुसार वडाभर हालसम्म ६५ भन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने दुई जनाको ज्यान गएको छ। स्वास्थ्य कार्यालय र प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार सार्वजनिक गरेको तथ्यांकमा बेनी नगरपालिकामा ५१ जना संक्रमित भेटिएको उल्लेख थियो। ती सबै संक्रमित वडा नम्बर ४ कै थिए।
तातोपानी, सिंगा, बास्कुना, थामडाँडा, डाँडाखेत र सुर्केमेलामा बढी संक्रमित रहेका छन्। गत वैशाख १४ गते तातोपानीका होटल व्यवसायीहरुलाई कोरोनाको लक्षण देखिएको थियो। जिल्ला प्रशासन कार्यालयले म्याग्दीका तातोपानी कुण्ड बन्द गराउन निर्देशन दिनुभन्दा अघिदेखि नै तातोपानी पुगेका पर्यटकबाट कोरोना फैलिएको वडाध्यक्ष पाैडेलले बताए।
तातोपानीको छिमेकी बस्ती सिंगा, सुर्केमेला, डाँडाखेत, बास्कुना र थामडाँडामा १४ गतेपछि चौरासी पूजा, विवाह, क्रियाकर्म, व्रतबन्ध जस्ता सांस्कृतिक कार्य भए र त्यहाँ भोजभतेर र जमघट भएको थियो। यो कार्यक्रमपछि अहिले हरेक गाउँमा ज्वरो आउने र जिउ दुखेर बिरामी हुनेको संख्या ह्वात्तै बढेको वडाध्यक्ष पौडेल बताउँछन्।
गाउँमा परीक्षण समेत नभएकाले मृत्यु हुनेहरु कोरोनाले हो कि अरु नै कारणले छुट्याउन समेत मुस्किल हुन थालेको उनले बताए। नगरले सक्दो परीक्षण र कन्ट्याक्ट ट्रेसिङ गरिरहेको तर, अब गाउँ–गाउँमै धेरै संख्यामा बिरामी हुन थालेमा सम्भव नहुने पौडेलको भनाइ छ।
यस्तै, हिमाली जिल्ला हुम्लामा ज्वरो आएका बिरामीहरुको परीक्षण गर्दा धमाधम कोरोना पोजिटिभ देखिन थालेपछि जेठ २ मा दुईवटा गाउँपालिका सिल गरियो। बाजुरा जिल्लासँग सीमा जोडिएको ताँजाकोट गाउँपालिका र मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–५ मा एकै गाउँका धेरै मानिसमा कोरोना पुष्टि भएपछि सिल गरिएको हो।
ताँजाकोट गाउँपालिकामा ४६ जनालाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएपछि केही समयका लागि सिल गरिएको गाउँपालिका अध्यक्ष बाग्दल मल्लले बताए।
गाउँपालिकामा कोरोनाका संक्रमितको संख्या बढेपछि ताँजाकोटका सम्पूर्ण कार्यालयहरु सिल गरिएको उनले बताए। कोरोना परीक्षणमा झण्डै ५० प्रतिशतमा संक्रमण पुष्टि भएपछि कार्यालय अर्को सूचना जारी नभएसम्मका लागि सिल गरिएको उनले बताए।
सर्केगाड गाउँपालिका–५ मा १५ जनामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा चार जनामा संक्रमण पुष्टि भएपछि गोठीगाउँलाई १० दिनका लागि सिल गरिएको गाउँपालिका अध्यक्ष कृष्ण रोकायाले बताए।
सिलपछि एक घरबाट अर्को घरमा समेत जानलाई रोक लगाइनुका साथै गाउँमा स्वयंसेवक परिचालन गरिएको गाउँपालिका अध्यक्ष रोकायाले बताए।
यस्तै, ओखलढुङ्गाका बैंक तथा वित्तीय संस्थाहरू एक साताका लागि बन्द गरिएका छन्। बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि तत्कालका लागि बैंक तथा वित्तीय संस्थाको सेवा ३ जेठदेखि बन्द गरिएको हो।
जिल्लामा सञ्चालित विभिन्न बैंकका कर्मचारीमा संक्रमण पुष्टि भएको थियो। बैंकका कर्मचारीलाई बचतकर्ताले बुझाएको पैसाबाट संक्रमण भएको र उनीहरुबाट संक्रमण थप समुदायमा फैलन नदिन भन्दै ९ जेठसम्मका लागि सबै बैंकका सेवा बन्द गरियो।
बैंकमा सेवाग्राहीको चाप बढी हुने र पैसाको नोट कारोबारबाट समेत जोखिम बढ्ने देखिएपछि परीक्षणको दायरा बढाउने भन्दै बैंक लगायत अन्य कार्यालय बन्द गरिएको हो। ओलखढुंगामा हालसम्म ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
दाङ र गुल्मीमा एकैदिन १८ जनाको मृत्यु
कोरोना संक्रमणका कारण दाङमा शनिबार एकैदिन सात जनाको मृत्यु भयो। जिल्ला स्वास्थ्य कार्यालय दाङका अनुसार अक्सिजनको अभावका कारण तीन जनाको उपचारका क्रममा, तीन जनाको होमआइसोलेसनमा र एकको बाटोमै मृत्यु भएको थियो।
दाङमा हालसम्म १५४ जनाको मृत्यु भएको छ। यसरी ज्यान गुमाउनेमा १०३ जना पुरुष र ५१ जना महिला छन्।
त्यस्तै, गुल्मीमा पनि सोही दिन ११ जना को मृत्यु भयो। दोस्रो चरणको कोरोना संक्रमणका कारण जिल्लामा यो सबैभन्दा उच्च मृत्यु भएको तथ्यांक थियो।
शनिबार तम्घास, पाल्पा, होम आइसोलेसन र अन्य स्थानमा उपचाररत नौ पुरुष र दुई महिलाले ज्यान गुमाएको स्वास्थ्य कार्यालय गुल्मीका कोभिड–१९ फोकल पर्सन गोपाल कार्कीले बताए। गुल्मीमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ६५ पुगेको छ। यीमध्ये दोस्रो लहरमा मात्र ५० जनाले ज्यान गुमाएको कार्कीले बताए।
स्थानीय तहका जनप्रतिनिधिहरुका अनुसार गाउँमा कोरोनाका लक्षणसँग मिल्दाजुल्दा बिरामी बढिरहेको, तर उनीहरु अस्पतालसम्म नपुगेर घरम बस्ने क्रम बढेको छ। केही आफै ठिक भए पनि कतिपयले भने तिनै लक्षणसँगै ज्यान गुमाउन थालेका छन्। परीक्षण नभएकाले उनीहरुको आँकडा कोरोनाबाट हुने मृत्युमा जोडिएको छैन।
भेरी अस्पतालको डरलाग्दो तथ्यांक
नेपालगञ्जको भेरी अस्पतालमा एक महिनाको अवधिमा गरिएको परीक्षणका क्रममा डरलाग्दो तथ्यांक देखिएको छ। पहाडी र मधेशका जिल्लाबाट आएका संक्रमितहरुको उपचारमा सक्रिय अस्पतालले सार्वजनिक गरेको तथ्यांक अनुसार परीक्षणका लागि आएका व्यक्तिमध्ये ७३ प्रतिशतमा पोजिटिभ देखिएको थियो।
२०७८ वैशाख महिनाको तथ्यांक
जम्मा परीक्षण – ८१७१
संक्रमण पुष्टि – ५९९३
पोजिटिभिटी प्रतिशत – ७३.३४
२०७७ वैशाखदेखि २०७८ वैशाख अन्त्यसम्म
जम्मा परीक्षण – ६३४४२
जम्मा पोजिटिभ – ११७०३
पोजिटिभिटी प्रशित – १८.४४

२०७७ चैत महिनामा दैनिक पोजिटिभ संख्या ४–५ मात्र पुगेकोमा महिनाको अन्त्यमा ५८ जनामा पोजेटिभ देखिएको थियो। योसँगै दोस्रो लहरको शुरुआत भएको अस्पतालले जनाएको छ। वैशाख महिनाको ७ दिनको औसत पोजिटिभिटी अधिकतम अंकसम्म पुगि महिनाको अन्त्यमा क्रमशः केही घट्दै गएको देखिएको अस्पतालले जनाएको छ।
वैशाख महिनामा पहिचान भएकामध्ये ७६.३ प्रतिशत बिरामी बाँकेका मात्र थिए। पालिकागत रुपमा समग्र संख्यामा हेर्दा नेपालगञ्ज उपमहानगरपालिकाबाट मात्र ५३.४ प्रतिशत रहेका थिए। कोहलपुर नगरपालिकाबाट १० प्रतिशत रहेका थिए ।
अस्पतालको कोभिड वार्डमा २०७७ भदौदेखि चैत मसान्तसम्म ८७२ बिरामी भर्ना भएकोमा २०७८ वैशाखमा मात्र ८१० जना भर्ना भएको अस्पतालको तथ्यांकमा उल्लेख छ। नयाँ भेरियन्टको पहिचान अस्पतालको पीसीआर प्रविधिले नछुट्ट्याए पनि भाइरसको संक्रामकता र जटिलता गराउने क्षमता पहिलेको भन्दा उल्लेख्य मात्रामा फरक रहेको अस्पतालले जनाएको छ।
२०७७ भदौदेखि चैत महिनासम्म ८७२ बिरामी भर्ना भएकोमा निको हुने दर ८६.७ प्रतिशत रहेको अस्पताललको तथ्यांकमा उल्लेख छ।
उपचारको निम्ति भर्ना भएका बिरामीमा पहिलो चरणमा मृत्युदर ९.२९ प्रतिशत रहेकोमा दोश्रो चरणमा उक्तदर २२.९ प्रतिशत पुगेको अस्पतालले जनाएको छ।
पहिलो चरणमा भेन्टिलेटरमा राख्नु परेका ४० जना मध्ये ३५ जना बिरामीको मृत्यु भएको थियो भने दोश्रो चरणमा ११ जनालाई भेन्टलेटरमा राखिएकोमा १० जनाको मृत्यु भएको र १ जना बाहिर प्रेषण गरिएको अस्पतालले जनाएको छ।

पछिल्ला दिनमा बाँके र नेपालगञ्ज केही मत्थर हुँदै गएको देखिए पनि वरपरका जिल्लाहरु (मुख्यतः बर्दिया)का बिरामीको पहिचान हुने संंख्या भने बढेको अस्पतालले जनाएको छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको समेत प्रेषण केन्द्र भएकोले भेरी अस्पतालले अझै केही हप्ता वा महिना भने कोभिडविरुद्ध नै जुध्नुपर्ने हुन सक्ने अस्पतालको आकलन छ।
०००
यी उदाहरण प्रतिनिधि घटना मात्र हुन्। अहिले कोरोना संक्रमणले शहरमात्र नभइ गाउँ–गाउँमा समेत आक्रान्त पार्न थालेको छ। यसरी संक्रमितहरु बढ्दै जाँदा गाउँहरुमा न परीक्षण छ न त व्यवस्थित अस्पताल नै छन्।
ज्वरो आउने, खोकी लाग्ने, जिउ दुख्ने लक्षण भएको तर, उनीहरु दैनिक कामदेखि भोजभतेर र जमघटमा सहभागी हुँदा त्यसले झनै संक्रमण फैलाउन मद्दत गरिहेको छ।
नेपालमा अहिले सक्रिय संक्रमितको संख्या सवा एक लाख नाघिसकेको छ। ५ हजार २ सय भन्दा धेरैले ज्यान गुमाएका छन्। हरेक दिन ९ हजारको संख्यामा नयाँ संक्रमित थपिँदै आएका छन् भने ज्यान गुमाउने संख्या पनि दुई सय आसपास छ।
सरकारले कोरोना रोकथाम र नियन्त्रणको जिम्मा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई नै दिएको छ। शहरी र मधेशका जिल्लामा ५ सय भन्दा माथि संक्रमित भएमा निषेधाज्ञा लगाउने सकिने भनिएको छ भने हिमाली र पहाडी जिल्लामा २ सय संक्रमित नाघेमा निषेधाज्ञा जारी गर्न सकिने उल्लेख छ।
अहिले अधिकांश जिल्लामा निषेधाज्ञा जारी भएको छ। स्थानीय तहहरुले जिल्ला अस्पताल र स्थानीय तहमै अस्पताल सञ्चालन गर्ने, आइसोलेसन सेन्टर बनाउनेदेखि स्वाब संकलन र कन्ट्याक्ट ट्रेसिङको कार्य गर्दै आएका छन्। एउटा गाउँ र अर्को गाउँका बीचमा धेरै दूरी, सवारी साधनको अभाव र अस्पताल तथा चिकित्सकहरु कमी हुँदा कोरोना परीक्षण, रोकथाम र नियन्त्रणमा समस्या देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।