काठमाडौं– जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति गृहमन्त्री सुधन गुरुङले गहिरो दुःख व्यक्त गर्दै दोषीलाई कानुनबमोजिम अधिकतम सजाय दिलाउने प्रतिबद्धता जनाएका छन्।
उनले घटनाको पहिलो दिनदेखि नै सरकार अनुसन्धानमा सक्रिय रहेको दाबी गर्दै कुनै पनि किसिमको त्रुटि हुन नदिने गरी अनुसन्धान अघि बढाइएको बताएका छन्।
‘सरकार यो घटनाको पहिलो दिनदेखि नै मौन छैन र निष्क्रिय पनि छैन। घटनालाई अत्यन्त संवेदनशील रूपमा लिँदै प्रभावकारी अनुसन्धानका लागि हामीले एकछिन पनि ढिलाइ नगरी अनुसन्धान अगाडि बढाइरहेका छौं। कुनै पनि किसिमको बाधा वा त्रुटि नहोस् भन्नेमा हामी पूर्णरूपमा सचेत छौं,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
घटनाका आरोपितहरू तत्काल पक्राउ गरिएको र अनुसन्धान जारी रहेको उनले बताएका छन्। प्रारम्भिक चरणमा प्रहरीबाट लापरबाही भएको भन्ने प्रश्न उठेपछि सम्बन्धित प्रहरी अधिकारीमाथि समेत छानबिन र कारबाहीको प्रक्रिया अघि बढाइएको पनि उनले दाबी गरेका छन्।
‘आरोपितहरू तत्कालै पक्राउ गरिएको छ र अनुसन्धान जारी छ। प्रारम्भिक चरणमा प्रहरीबाट लापरबाही भएको भन्ने गम्भीर प्रश्न उठेपछि सम्बन्धित प्रहरी अधिकारीहरूमाथि समेत छानबिन र कारबाहीको प्रक्रिया अघि बढाइएको छ,’ उनले भनेका छन्।
गरिमा प्रकरणपछि मृत्युदण्डको माग गर्दै नागरिकस्तरमा तीव्र आक्रोश देखिएको छ। काठमाडौंको माइतीघरदेखि सामाजिक सञ्जालसम्म बलत्कारीलाई मृत्युदण्ड दिनुपर्ने आवाज उठिरहेको छ। यस विषयमा पनि गृहमन्त्री गुरुङले आफू संवेदनशील रहेको बताएका छन्।
तर‚ नेपालको संविधानले मृत्युदण्डसम्बन्धी कानुन बनाउन रोक लगाएको भन्दै तत्काल मृत्युदण्ड दिन सक्ने कानुनी अवस्था नरहेको उनको भनाइ छ।
‘मृत्युदण्डको मागमा देखिएको आक्रोशलाई म बुझ्छु। तर नेपालको संविधानको धारा १६ को उपधारा २ ले मृत्युदण्ड दिने गरी कानुन बनाउन निषेध गरेको छ। त्यसैले घटनाको आवेगमा राज्यले तत्काल मृत्युदण्ड दिन सक्ने कानुनी अवस्था छैन,’ उनले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।