काठमाडौं- राजस्व अनुसन्धान विभागले सुन तस्करीको आरोप लागेका एक जना भारतीय नागरिक र एक जना नेपालीविरूद्ध दुई अर्ब ४३ करोड ८६ लाख ८० हजार विगो मागदाबीसहित मुद्दा दायर गरेको छ।
मुद्दा दायर भएकामा भारतीय व्यक्ति अब्दुल मजिद अनेकल र एस इम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिका सञ्चालक राजेश गुरुङ छन्। उनीहरुबाट छ किलो २८९ ग्राम ३५० मिलिग्राम सुन बरामद गरी राजस्व अनुसन्धान कार्यालय पथलैयामा दाखिला भएको थियो। पटक-पटक सुन तस्करी गरी राजस्व चुहावट गरेको आरोपमा उनीहरूलाई विभागले उच्च अदालतमा मुद्दा दायर गरेको छ।
हेटौंडा उपमहानगरपालिका रातोमाटे चेकपोस्टमा बिनाबिलविजक, लुकाइछिपाइ बसमा लैजाँदै गरेको छ किलो २८९ ग्राम ३५० मिलिग्राम सुन बरामद भएको थियो। त्यसलगत्तै विभागले उनीहरूविरूद्ध अनुसन्धान सुरू गरेको थियो। अनुसन्धानबाट उनीहरुले पटक-पटक सुन तस्करी गर्ने गरेको खुलेको विभागको आभियोगपत्रमा उल्लेख छ।
विभागले उनीहरुसँग विगो, विगोको दोब्बर जरिवाना र कैद सजाय माग गरेको छ। विभागले राजेश गुरुङको हकमा थप चार करोड ३० लाख ७९ हजार ४०० रुपैयाँ, भैरव स्टोर्सका प्रोप्राइटर सञ्जिव श्रेष्ठको हकमा चार करोड ५६ लाख ६ हजार ८२७ र काठमाडौं बस्ने शंकर घिमिरेको हकमा चार लाख २९ हजार ५१३ रुपैयाँ विगो कायम गरी वैशाख १२ गते उच्च अदालत हेटौंडामा मुद्दा दर्ता गरेको जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।