काठमाडौं– मोरङ जिल्ला अदालतले ३८ सय किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा ३२ अभियुक्तलाई थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्ने विषयमा आज निर्णय सुनाउने तयारी गरेको छ।
आजै पक्राउ परेका सुन तस्करीका मुख्य नाइके चूडामणि उप्रेती गोरेको भने बुधबारदेखि अलग्गै बयान सुरु गर्ने तयारी जिल्ला अदालतले गरेको छ। बुधबारसम्म थुनछेक बहस सुनाउने तयारी अदालतले गरे पनि गोरे पक्राउको समाचार पुगेलगत्तै आजै सरकारी वकिलहरुको जवाफी बहस छोट्याएर आदेश सुनाउन लागिएको हो। सवै पक्षको बहस सकिएर न्यायाधीश नारायणप्रसाद शर्मा आदेश लेखनमा व्यस्त रहेकाले केही समयमा निर्णय आउने जिल्ला अदालतका एक कर्मचारीले बताए।
आज बिहान काठमाडौंबाट पक्राउ परेका गोरेलाई केहीबेरअघि मोरङ पुर्याइएको छ। उनलाई आजै अदालत उपस्थित गराउने तयारी छ।
जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा बैसाख २७ गतेदेखि बहस सुरु भएको मुद्दामा लगातार सुनुवाइ हुँदै आएको छ।
अभियुक्तका तर्फवाट ६० र ४ जना सरकारी वकिलहरुले उक्त मुद्दामा बहस गरेका छन्। प्रहरीको एक महिना लामो अनुसन्धानपछि बैसाख २६ गते जिल्ला सरकारी वकिलको कार्यालयले बहालवाला प्रहरी अधिकृतसहित ३२ जनालाई पक्राउ गरी आरोपपत्रसँगै अदालतमा पेस गरेको थियो। उनीहरु विरुद्ध संगठित अपराध अन्तर्गत आपराधिक समूह स्थापना गरी सुन चोरी–पैठारी र निकासी गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएको थियो। मुद्दामा प्रहरीका उच्च अधिकारी लगायत ६३ जना विपक्षी रहेका छन्।
मिलेमतोमा सुन तस्करी गर्ने गोरे समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म ३८ सय किलो सुन तस्करी गर्दै १७ अर्ब १ करोड ८० लाख रुपैयाँ राज्यलाई नोक्सान पुर्याएको दाबी अभियोगपत्रमा गरिएको छ। सरकारी वकिलको कार्यालयले उक्त रकम बिगोका रुपमा उनीहरुसँग असुल हुनुपर्ने माग–दाबी गर्दै जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।