काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ को बजेट निर्माण कार्यलाई तीव्रता दिइरहँदा सोमबार नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ।
संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान पुस्ताले नै अनुभूति गर्नेगरी विकास र समृद्धि हासिल गर्नेतर्फ केन्द्रित भएर सरकारले कार्यक्रम तयार गरेको उल्लेख गरिन्।
सरकारले नीति तथा कार्यक्रमले योजनाबद्ध ढंगले विकासको गतिलाई अगाडि बढाउने दाबी गरे पनि व्यवसायीहरुले भने यसलाई 'महत्वाकांक्षी योजना' भनेका छन्। महत्वाकांक्षी योजना कार्यान्वयनमा आए आगामी दिनमा लगानीको वातावरण बन्ने विश्वास निजी क्षेत्रले व्यक्त गरेको छ।
हेरौं, नीति तथा कार्यक्रमबारे व्यवसायीहरु के भन्छन्ः
व्यावहारिकभन्दा पनि महत्वाकांक्षी
राजेशकाजी श्रेष्ठ, अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स
सरकारले ल्याएको नीति तथा कार्यक्रम व्यावहारिकभन्दा पनि महत्वाकांक्षी छ। सरकारले विकास–निर्माणको पूर्वाधार विकासका लागि सडकमार्ग, रेल्वे, र विमानस्थल निर्माणसम्मका कुरालाई आकर्षक रुपमा समेटेको छ। तर, हालसम्म काठमाडौंदेखि नागढुंगासम्म र मुग्लिन सडकखण्ड व्यवस्थित गर्न नसक्दा धेरैले समस्या व्यहोर्नुपरेको छ। त्यसको निर्माणमा ध्यान दिनु आवश्यक छ। आफ्नो संयन्त्र के–कति छ त्यसलाई आधार मानेर योजना ल्याउनुपर्छ। नीति मात्र ल्याएर हुँदैन, कार्यान्वयन पक्षलाई पनि बलियो बनाउनुपर्छ। कमजोर संयन्त्रलाई बलियो बनाउने आधार निर्माण गर्न व्यावहारिक नीति आवश्यक छ।
सरकारले निजी क्षेत्रलाई आर्थिक धरोहरको रुपमा अगाडि बढाउने भन्ने कुरा सकारात्मक छ। अब लगानीकर्तालाई उत्साहित बनाएर लगानीको वातावरण सरकारले सिर्जना गर्छ कि गर्दैन, त्यो भने हेर्न बाँकी छ।
निजी क्षेत्रको मागलाई सम्बोधन
शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम महत्वाकांक्षी जस्तो देखिएको छ। आफ्नो योजनालाई पूर्णता दिनका लागि महत्वाकांक्षी सोच राख्नु राम्रो हो। सरकारले नीति तथा कार्यक्रम ल्याएसँगै यसको कार्यान्वयन पक्षमा जोड दिनुपर्छ। कार्यान्वयन भएको खण्डमा मात्रै मुलुक आर्थिक समृद्धितर्फ अगाडि बढ्नेछ।
सरकारको नीतिमा निजी क्षेत्रको मागलाई राम्रोसँग समेटिएको छ। पूर्वाधार विकासमा सरकार आक्रामक हुने देखिएको छ। यस्तै, हामीले माग राखेको लगानीमैत्री नीति नियम आउने संकेत देखिएको छ। समग्रमा देशले आर्थिक क्षेत्रलाई चलायमान बनाउने खालको नीति आएको छ।
कार्यान्वयन पक्ष फितलो हुने आशंका
हरिभक्त शर्मा, अध्यक्ष, नेपाल उद्योग परिसंघ
सरकारले ल्याएको नीति तथा कार्यक्रम आकर्षक छ। हामीकहाँ नीतिहरु राम्रो बन्ने तर कार्यान्वयन पक्ष फितलो हुने गरेको छ। सरकारले नीति मात्र निर्माण गरेर हुँदैन, त्यसका संयन्त्रहरुले कसरी कार्यसम्पादन गर्छन् भन्ने महत्वपूर्ण हुन्छ। त्यसलाई पनि विचार गर्न आवश्यक छ।
सरकारले लामो समयदेखि निजी क्षेत्रले राख्दै आएको ऐन तथा कानुनलाई संशोधन गर्नुपर्ने मागलाई सम्बोधन गरेको छ। यसलाई निजी क्षेत्रले सकारात्मक रुपमा लिएको छ। तर, यसको कार्यान्वयन पक्ष फितलो हुनु हुँदैन। नीतिमा ल्याए जस्तै कुरा बजेटमा कसरी व्याख्या हुन्छ, त्यो भने हेर्न बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।