फाइल तस्बिर काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका काममा अपेक्षित पुँजीगत खर्च नहुनुको मुख्य कारण कार्यक्षमताको अभाव रहेको बताएका छन्।
निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको उद्घाटन गर्दै शनिबार प्रधानमन्त्री ओलीले पूर्वाधार निर्माणमा सम्बन्धित क्षेत्र र सरोकारवाला निकायको कार्यक्षमता तथा तदारुकतामा देखिएको कमीका कारण पुँजीगत खर्च लक्ष्यअनुरुप हुन नसकेको बताएका हुन्।
‘हाम्रा कार्यक्रमहरु प्राय: समयमा सम्पन्न नहुने गरेका छन्। पुँजीगत खर्च नहुने गरेको छ। हाम्रो कार्यक्षमतामा गम्भीर न्यूनता देखिएको छ। र, हाम्रो कार्य तदारुकतामा कमी देखिएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यस कारण हामीले कार्य तत्परतामा पनि वृद्धि गर्नुपर्नेछ र हाम्रो कार्य सम्पादन क्षमतामा पनि वृद्धि गर्नुपर्नेछ।’
विकास निर्माणका आयोजनाहरुमा समयमा पुँजीगत खर्च गरेर लक्षित समयभित्रै वा सोभन्दा अगावै बनाइसक्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए। सँगसँगै आयोजनाहरुको गुणस्तरीयतामा पनि उत्तिकै ध्यान दिइनुपर्ने उनले बताए। ‘गुणस्तरका सवालमा सम्झौता (कम्प्रमाइज) हुन सक्दैन। आयोजनाहरुको काम गुणस्तरीय हुनुपर्दछ,’ उनले भने, ‘म सम्बन्धित मन्त्रालय, विभागलाई र सबै सरोकारवालाहरुलाई आयोजनाहरुको रेखदेख गर्न र काममा अवरोध नगर्न आग्रह गर्दछु।’
शनिबार औपचारिक सुरुआत भएको निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमलाई तीन वर्षभित्रै निर्माण सम्पन्न भएको हेर्ने आफ्नो चाहना रहेको पनि प्रधानमन्त्री ओलीले बताए।
‘यी आयोजनालाई तीन वर्षभित्र पूरा भएको देख्नु छ। म यस कार्यलाई तीव्रताका साथ अगाडि बढाउन र भनिएको समयभित्र गुणस्तरीय काम सम्पन्न भएको हेर्न चाहन्छु। जनताको चाहना पनि त्यही हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा जुनसुकै निकायले पनि केही काम गर्दा जिम्मेवार भएर गर्नुपर्छ। हामीले एउटा काम रोक्ने आदेश दियौं भने त्यसले कार्य सम्पादन गरिसक्नुपर्ने समय पर धकेल्छ। जसकारण प्रत्यक्ष र परोक्षरुपमा आर्थिक क्षति भोग्नुपर्ने हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।