काठमाडौं– देशको सबैभन्दा ठूलो दल नेकपा एमाले र तेस्रो ठूलो माओवादी केन्द्रको एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टीको ‘हाइकमाण्ड’ अर्थात् सचिवालय ‘असमावेशी’ देखिएको छ। सचिवालयमा महिला, मधेसी तथा दलितको प्रतिनिधित्व शून्य छ।
पार्टी सञ्चालनका लागि ९ सदस्यीय सचिवालय गठन गरिएको छ। जसमा अध्यक्षद्वय केपी शर्मा ओली, प्रचण्डसहित माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेल छन्। सो सचिवालयमा एक जना पनि महिला छैनन्। त्यस्तै, मधेस तथा पिछडिएको क्षेत्रको उपस्थिति पनि छैन। जसमा पार्टीभित्रकै नेताहरुले समेत प्रश्न उठाएका छन्।
विश्लेषक चन्द्रकिशोर पनि दुई दल एकीकरण हुनु सुखद भए पनि सचिवालय असमावेशी हुनु दुःखद संकेत भएको बताउँछन्।
‘कम्युनिस्ट एकताका केही शुभसंकेत पनि छन्,’ उनी भन्छन्, ‘तर, जुन समिति र संयन्त्रहरु बने, त्यसमा समावेशी भएन। यसले उनीहरुले परिवर्तनलाई कसरी अगाडि बढाउँछन् भनेर सुरुमै आशंका उत्पन्न भएको छ।’
नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटि ४५ सदस्यीय बनाउने तयारी छ। जसमा नामहरुको टुंगो लाग्न बाँकी छ। सो समिति गठनमा भने समावेशीलाई आधार बनाइने नवगठित पार्टीका नेताहरु बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।