काठमाडौं। तेहरानमा इरानी मुद्रा रियाल अमेरिकी डलरको तुलनामा नयाँ न्यून बिन्दुमा पुगेको छ।
मंगलबार बजारमा एक अमेरिकी डलरका लागि २५ लाखभन्दा बढी रियालमा कारोबार भएको छ। मध्यपूर्वमा जारी युद्धका कारण इरानको अर्थतन्त्रमा दबाब बढ्दै जाँदा रियाल निरन्तर कमजोर बनेको हो।
यसअघि सेप्टेम्बर २ मा एक डलर बराबर २२ लाख रियाल पुगेको थियो। त्यसको २७ दिनमै रियालले पुनः नयाँ न्यून बिन्दु कायम गरेको हो। युद्ध सुरु भएयता इरानी मुद्रा पटक–पटक नयाँ न्यून स्तरमा झरेको छ।
अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण इरानी अर्थतन्त्र यसअघि नै वर्षौंदेखि दबाबमा थियो। युद्ध सुरु भएपछि अमेरिकी नौसैनिक नाकाबन्दी र इरानी तेलमाथि थप प्रतिबन्ध लगाएपछि आर्थिक संकट थप गहिरिएको छ।
यसैबीच, इरानका विदेशमन्त्री अब्बास अराघ्चीले होर्मुज जलडमरूमध्य पुनः खोल्ने विषयमा अमेरिकासँग अप्रत्यक्ष वार्ता थप गम्भीर बनेको बताएका छन्। उनले सोमबार राति इरानी सञ्चारमाध्यमसँग कुरा गर्दै हालको मुख्य ध्यान होर्मुज जलडमरूमध्यमा केन्द्रित रहेको बताएका हुन्।
अराघ्चीका अनुसार कतारका मध्यस्थकर्ताले अमेरिकी पक्षसँग पुनः छलफल गर्ने र त्यसपछि अमेरिकाको अन्तिम जवाफ इरानसमक्ष पुर्याउने अपेक्षा गरिएको छ। त्यसका आधारमा तेहरानले निर्णय गर्ने उनले बताएका छन्। पाकिस्तान र कतारका मध्यस्थकर्तासँग भेटेपछि उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्।
अमेरिकी अधिकारीसहित सम्बन्धित अधिकारीहरूले पनि इरान र अमेरिकाबीच युद्ध अन्त्य गर्ने तथा होर्मुज जलडमरूमध्य खोल्ने विषयमा सम्झौता गराउन मध्यस्थकर्ताहरूले प्रयास गरिरहेको बताएका छन्। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले राखेको प्रस्ताव अस्वीकार गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।