काठमाडौं। चार वटा संसदीय समितिको बैठक आज बस्ने भएको छ।
बुधबार अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो।
अर्थ समितिको बैठक बिहान ८:३० बजे बस्ने भएको छ।
बैठकमा नेपालको पूँजी बजारलाई व्यवस्थित, पारदर्शी, विश्वसनीय एवं लगानीमैत्री बनाउन धितोपत्र निष्काशन, सूचीकरण, बजार सञ्चालन तथा नियमन र लगानीकर्ताको हित संरक्षण सम्बन्धमा सम्बद्ध निकाय र संघ-संस्थासँग छलफल हुने कार्यसूची रहेको छ।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ९ः३० बजे बस्ने भएको छ।
बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवम् कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ उपर छलफल र पारित गर्ने कार्यसूची रहेको छ।
यसैगरी, विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवम् कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ र बाल सुधार गृहमा रहेका बालबालिकाहरुको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ सदनमा पेस सम्बन्धमा छलफल गर्न कार्ससूची रहेको छ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्ने भएको छ। बैठकमा संयुक्त राष्ट्रसंघीय जलवायु सम्बन्धी सम्मेलन (कोप ३१) को सम्बन्धमा कृषि,वन तथा पर्यावरण मन्त्रालय र ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयका कामकारवाहीको बारेमा छलफल गर्ने कार्यसूची रहेको छ।
विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ। बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल हुने कार्यसूची रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।