काठमाडौं- नेकपा एमालेका जननेता मदन भण्डारी र नेता जीवराज आश्रितको २५औं स्मृति दिवसमा मदननगर बल्खुमा आयोजित श्रद्धाञ्जलीसभामा नेकपा एमाले र माओवादी केन्द्रका नेता-कार्यकर्ता भेला भएका छन्। कार्यक्रममा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दैछन्।
हिजो पार्टी एकताका सबै लेनदेन र प्रक्रिया पूरा गरेका एमाले र माओवादीका दुवै अध्यक्षले आज मदन-आश्रितलाई सम्झँदै पार्टी एकताको सन्देश नेता-कार्यकर्तामाझ बाँड्नेछन्। बल्खुस्थित पहिलाको एमाले पार्टी कार्यालय रहेको मदननगरमा अहिले नेता-कार्यकर्ता जम्मा भइरहेका छन्।
२०५० जेठ ३ मा चितवनको दासढुंगास्थित त्रिशुली नदीमा जिप खसेर नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको मृत्यु भएको सम्झनामा हरेक वर्ष नेकपा एमालेले श्रद्धाञ्जलीसभा गर्दै आएको छ।
आजको सभा किन पनि महत्वपूर्ण छ भने, तत्कालीन एमाले महासचिव मदन भण्डारीले 'कम्युनिस्ट एकताका लागि आफूलाई बोलाएको' बताउने प्रचण्डको पार्टी माओवादी केन्द्र र मदन भण्डारीले कोरेको मार्गमा हिँडिरहेको एमालेबीच एकताको घोषणा हुँदैछ।
माओवादको विचारधारा अनुसार 'जनयुद्ध'बाट आएका प्रचण्ड र मार्क्सवाद लेनिनवादसँग जोडिएर मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादमा निरन्तर हिँडिरहेका अध्यक्ष ओलीले आज आफूहरु वैचारिक र सांगठिक रुपमै एक भएको घोषणा गर्नेछन्।
आजै बस्ने पार्टी एकता संयोजन समितिको बैठकले एकताको औपचारिक निर्णय गर्ने र त्यहीअनुसार निर्वाचन आयोगमा नयाँ दल दर्ता भएपछि विधिवत रुपमा यो एउटा पार्टी हुनेछ। त्यसैले नेकपा एमाले र माओवादी केन्द्रका नाममा दुवै अध्यक्षले गर्ने आजको सम्बोधन अन्तिम हुन सक्नेछ।

मदन-आश्रितलाई श्रद्धाञ्जली दिन र पार्टी एकताको ऊर्जा बोकेर फर्किन एमाले र माओवादीका नेता-कार्यकर्ता बल्खु पुगेका छन्। सभास्थलमा एमाले नेताहरु माधवकुमार नेपाल, वामदेव गौतम, सुवास नेम्वाङ, भरतमोहन अधिकारी लगायत नेताहरु पुगिसकेका छन्। यसैगरी माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रामबहादुर थापा बादल कार्यक्रमस्थलमा पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।