काठमाडौं। इङ्ल्यान्डले नेसन्स लिगमा चेक गणतन्त्रलाई २–० ले पराजित गरेको छ। प्रागमा भएको खेलमा घरेलु टोली २३औं मिनेटमै पाभेल शुल्च रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएको थियो।
तर‚ पहिलो हाफमा इङ्ल्यान्डले संख्यात्मक फाइदाको पर्याप्त सदुपयोग गर्न सकेन। दोस्रो हाफ सुरु भएको दुई मिनेटमै भने एन्थोनी गोर्डनले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाए।
त्यसपछि इङ्ल्यान्डले थप अवसर सिर्जना गरे पनि दोस्रो गोलका लागि ६९औं मिनेटसम्म कुर्नुपर्यो। चेक डिफेन्सको गल्तीबाट आएको बलमा कप्तान ह्यारी केनले सही समयमा पुगेर उत्कृष्ट फिनिस गर्दै टोलीको अग्रता २–० बनाए।
इङ्ल्यान्डले अन्तिम समयमा अग्रता अझ फराकिलो पार्ने अवसर पाए पनि गोल थप्न सकेन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।