काठमाडौं- सुधीर बस्नेत सञ्चालक रहेको कोहिनुर हिल हाउजिङले ललितपुरमा निर्माण गरिरहेको भेगास सिटी अपार्टमेन्ट लिलामीका लागि कर्मचारी सञ्चय कोषले ३५ दिने सूचना जारी गरेको छ। २०६८ सालमा लिएको २३ करोड रुपैयाँ बराबरको कर्जा नतिरेपछि कोषले उक्त सम्पत्ति लिलामीको सूचना निकालेको हो।
बस्नेतको कोहिनुर हिल हाउजिङ कम्पनीले तोकिएको म्यादभित्र कर्जा चुक्ता नगरी ऋण सम्झौतामा उल्लेख भएका शर्त तथा अवस्थाहरू उल्लंघन गरेको, आयोजनाको निर्माण कार्य स्थगन गरी अलपत्र बनाएको, कर्जाका शर्तहरू पालना गर्न तथा कर्जा चुक्ता गर्न बारम्बार ताकेता गर्दा पनि वास्ता नगरेका कारण सम्पत्ति लिलामी गर्नुपरेको कोषले उल्लेख गरेको छ।
सञ्चय कोषका चिफ मेनेजर अर्जुन गौतमका अनुसार २०६८ सालमा कोहिनुर हिल हाउजिङका नाममा कर्मचारी सञ्चय कोषबाट १ अर्ब ३८ करोड रुपैयाँ बराबरको कर्जा स्वीकृत भएको थियो।
भेगास सिटी अपार्टमेन्ट निर्माणका लागि भन्दै स्वीकृत भएको उक्त कर्जामा आयोजनाको प्रगति हेरेर थप किस्ता भुक्तानी गर्दै जाने सहमति भएको थियो। २ किस्तामा गरी २३ करोड रुपैयाँ कर्जा भुक्तानी भइसकेको थियो भने बाँकी किस्ता भुक्तानी भएको थिएन।
‘कुल १३८ करोड रुपैयाँ बराबरको कर्जा कोहिनुर हिल हाउजिङका नाममा स्वीकृत भएको थियो। तर यो कम्पनी कालोसूचीमा परेपछि थप कर्जा लगानी गर्न सक्ने अवस्था भएन। सुरुका केही किस्ता मात्रै भुक्तानी भएको हो,' गौतमले नेपाल लाइभसँग भने।
कर्मचारी सञ्चय कोष र कोहिनुर हिल हाउजिङबीच ५ वर्षभित्र सबै अपार्टमेन्ट निर्माण गरिसक्ने र आयोजना सम्पन्न भसकेपछिको थप तीन वर्षभित्र सबै कर्जा चुक्ता गरिसक्ने सम्झौता गरेको थियो।
कर्मचारी सञ्चय कोषले सम्पत्ति लिलामीको सूचना निकालेसँगै सुधीर बस्नेतले त्यसविरुद्ध अदालत जाने बताएका छन्। बस्नेतनिकट स्रोतका अनुसार कर्मचारी सञ्चय कोषले स्वीकृत गरेको सबै कर्जा रकम भुक्तानी नगरेको र सबै किस्ता नपाउँदै पहिलो किस्ताको ऋण असुल्न सम्पत्ति लिलामीको सूचना निकालिएको बतायो। ‘सञ्चय कोषले कर्जा लगानी गर्छु भन्यो। तर कर्जा रोक्यो। कर्जा रोक्नुको कारणबारे आजका दिनसम्म हामीलाई जानकारी दिइएको छैन,’ बस्नेतनिकट स्रोत भन्छ, ‘सञ्चय कोषले सबै किस्ताको कर्जा भुक्तानी गरेन। त्यो कर्जाको दुरुपयोग भएको भए मात्रै किस्ता रोक्नुपर्ने हो। बस्नेतले लिएको कर्जा भेगाससिटीमै लगानी भएको छ।’
त्यस्तै, सुधीर बस्नेत सञ्चालक रहेको ओरियन्टल को-अपरेटिभ र उनको सबै सम्पत्ति सरकारले जिम्मा लिएका कारण भेगास सिटी निर्माणको काम अलपत्र परेको दावी उनीनिकट स्रोतले गर्यो।
ओरियन्टल को-अपरेटिभ लिमिटेडका ८ हजारभन्दा बढी सदस्यहरुको बचत रकम लिएर बस्नेतले कोहिनुर हिल हाउजिङ कम्पनीका नामबाट घरजग्गामा लगानी गरेका थिए। ओरियन्टल सहकारीको सबै रकम घरजग्गामा लगाएका बस्नेतले वचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि २०६९ सालमा उक्त सहकारी समस्याग्रस्त बन्न पुग्यो।
२०७० सालमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको वचत तथा ऋण कारोबार गर्ने समस्याग्रस्त सहकारी संस्थाहरुको छानबिन गर्न गठित जाँचबुझ आयोगले ओरियन्टल लगायत अरु केही सहकारीलाई समस्याग्रस्त घोषणा गरेर सरकारले त्यसको दायित्व व्यवस्थापन गर्नुपर्ने सुझाव दिएको थियो।
कोहिनुर हिल हाउजिङ प्रालिको नाममा महालक्ष्मी नगरपालिका, बालकुमारी (साविकको इमाडोल गाउँ विकास समिति वडा नम्बर ४) मा ४६ रोपनी जग्गा र सोही जग्गामा केही बनिसकेका र केही बन्ने क्रममा रहेका अपार्टमेन्टहरु छन्। उक्त अपार्टमेन्टको जग्गा खरिद र आवास समेत बनाउने गरी १ अर्ब ९० करोड रुपैयाँ लगानी भएको बस्नेतको दावी छ। जसमध्ये ६७ करोड ५० लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको र ६२ करोड रुपैयाँ अपार्टमेन्ट बुकिङकर्ताबाट उठाएको भन्दै बस्नेतले २०७० साल पुस ७ गते ‘वचत तथा ऋण कारोबार गर्ने समस्याग्रस्त संस्थाहरुको छानबिन गर्न गठित जाँचबुझ आयोग’ समक्ष दिएको निवेदनमा उल्लेख छ।
भेगास सिटी निर्माणका लागि राष्ट्रिय वाणिज्य बैंकको १९ करोड, नबिल बैंकबाट १४ करोड र कर्मचारी सञ्चयकोषबाट २३ करोड गरी कुल ५६ करोड रुपैयाँ बराबर सावाँ कर्जा प्रवाह भएको देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।