काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको दुई दिने राजकीय भ्रमणबारे संघीय संसदको प्रतिनिधि सभालाई जानकारी गराउने भएका छन्।
आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मोदीको भ्रमणबारे जानकारी गराउन लागेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यसअघि मोदी नेपाल आउनुअघि उनको भ्रमणका विषयमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सदनलाई जानकारी गराएका थिए।
प्रधानमन्त्री मोदी शुक्रबार र शनिबार नेपालको भ्रमण गरी स्वदेश फर्किएका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा उनको काठमाडौं र जनकपुरमा नागरिक अभिनन्दन गरिएको थियो। यस्तै, दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्याससमेत गरेका थिए।
नेपालमा रहँदा भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रमुख राजनीतिक दलका नेतासँग भेटवार्ता गरेका थिए।
‘धार्मिक तथा सांस्कृतिक भ्रमण’को संज्ञा दिइएको यस भ्रमणका क्रममा मोदीले पशुपतिनाथ, जानकी मन्दिर तथा मुक्तिनाथमा विशेष पूजा–अर्चनासमेत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।