काठमाडौं– निवर्तमान सभापति शेरबहादुर देउवा समूहको नेपाली कांग्रेसले पार्टीको १५ औं महाधिवेशन गर्नेबारे निर्वाचन आयोगलाई जानकारी गराएको छ ।
देउवाको हस्ताक्षर रहेको पत्र मंगलबार निर्वाचन आयोगमा बुझाइएको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मंगलबार पत्र प्राप्त भएको पुष्टि गर्दै पत्रमा असोज १५ गतेदेखि वडा अधिवेशन शुरू गरी मंसिर २१ गतेदेखि केन्द्रीय महाधिवेशन गर्ने विवरण उल्लेख रहेको जानकारी दिए ।
‘हामीले अधिवेशन गर्दै छौं भनेर पत्र आएको छ,’ प्रवक्ता भट्टराईले भने, ‘पत्रमा महाधिवेशनको तिथिमितिसहितका विवरण खुलाइएको छ ।’
देउवा समूहले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज १५ गते वडा अधिवेशन, असोज २० गते गाउँ तथा नगरपालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने तयारी छ । त्यसपछि मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ ।
नेपाली कांग्रेसभित्र समानान्तर रूपमा फरक–फरक महाधिवेशन प्रक्रिया अघि बढिरहेको छ । गगन थापा नेतृत्वको कांग्रेसले यसअघि असोज १६ देखि १९ गतेसम्म १५ औं केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । तर, महाधिवेशनको कार्यतालिका २ दिन पर सारिएको छ । १८ असोजबाट केन्द्रीय महाधिवेशन गर्ने कांग्रेस संस्थापनको तयारी छ ।
इतरपक्षले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा १५ औं महाधिवेशन तयारी समिति गठन गरी विभिन्न जिल्लामा केन्द्रीय प्रतिनिधिसमेत खटाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।