भीमदत्तनगर– कञ्चनपुरको महेन्द्रनगरबाट प्यूठानका लागि शनिबार छुटेको यात्रुवाहक बस आज बिहानै दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ।
आज बिहान करीब ३ बजे प्यूठानको सरुमारानी गाउँपालिका–४ पाकुरी भन्ने स्थानमा प्यूठानका लागि छुटेको ना४ख १८७६ नम्बरको बस भीरबाट खस्दा ५ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए।
दुर्घटनास्थलमा घाइतेहरुको उद्धारका लागि खटिएका प्रहरी नायब उपरीक्षक पोखरेलका अनुसार दुर्घटनामा ३ महिला र २ जना पुरुषको मृत्यु भएको भए पनि सनाखत हुन सकेको छैन। घटनामा बसमा सवार अन्य २१ जना घाइते भएका छन्। घाइतेमध्ये ५ जनालाई बुटवल र १६ जनालाई उपचारका लागि जिल्ला अस्पताल प्यूठान पठाइएको छ।
प्युठान दुर्घटनामा घाइते हुनेहरुमा मल्लरानी गाँऊपालिका–३ का तिर्थराज पोख्रेल, गुल्मी अग्लुङकी तारा विष्ट, दैलेख दुल्लु नगरपालिका–११ का हिम बोहोरा, जगदिस खत्री, रिगल खत्री, प्यूठान नगरपालिका–३ साढेखालाका र्इश्वर खड्का, महेन्द्रनगर कंचनपुर बेदकोट नगरपालिका–६ का सुनिल रानामगर, मल्लरानी गाँऊपालिका चुँजाठाटीकी सुष्मा चौधरी, बैतडी पुचौडी नगरपालिका–६ का प्रकाश सावत, चितवनको भरतपुर–१७ का राजेन्द्रप्रसाद तिमल्सिना, रोल्पा सुवर्णावती गाँउपालिका–२ का शेरबहादुर विक र सपना विक, गौमुखी गाँऊपालिका–४ का थमजीत विक, कैलाली गौरीगंगा नगरपालिका–३ का राजेश चौधरी, झिमरुक गाँऊपालिका–३ का प्रेम केसी, प्यूठान नगरपालिका–१० दहखोलाकी गोमा गिरी रहेका छन्। उनीहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भैरहेको छ।
माण्डवी गाँऊपालिका–१ का वसन्त शर्मा, रोल्पा सुवर्णावती गाँउपालिका–२ का हरि सुनार, दैलेख दुल्लु नगरपालिका–११ का सफल अर्याल, रुपन्देही कन्चन गाँऊपालिका–३ का गोविन्द अर्याल, र हिमला पोख्रेललाई थप उपचारका लागि अस्पताल रिफर गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।