काठमाडौं- जनकपुरधामबाट शुक्रबार भारतको अयोध्याका लागि छुटेको बस सेवालाई अयोध्यामा भव्य स्वागत गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जानकी मन्दिरबाट शुक्रबार बिहान ११ बजे उद्घाटन गरेको जनकपुर-अयोध्या-जनकपुर अन्तरदेशीय बस यात्रु लिएर शनिबार दिउँसो अयोध्यामा पुगेको थियो।
रामायण सर्किट अन्तर्गत सञ्चालन भएको जनकपुर-अयोध्या-जनकपुर बस र त्यहाँ रहेका यात्रुलाई अयोध्यामा उत्तर प्रदेश (युपी) का मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका थिए।
मुख्यमन्त्री आदित्यनाथले बस र यात्रुलाई फूल, बस्त्र र नेपाली भाषामा अनुदित रामचरित मानसले स्वागत गरेको बताएका छन्।

'आज अयोध्यामा दीप प्रज्ज्वलन गरी जनकपुर अयोध्या सीधा बस सेवाको स्वागत र शुभारम्भ गरिएको छ,' मुख्यमन्त्री योगी आदित्यनाथले सामाजिक सञ्जालमा भनेका छन्, 'यो बस सेवाको माध्यमबाट श्रीरामको जन्मस्थान अयोध्या र माता जानकीको जन्मस्थान जनकपुरधामसम्म रहेको ५ सय २० किलोमिटरको यात्रा सुविधापूर्ण ढंगले तय गर्न सकिनेछ।'
उनले बस सेवाले छिमेकी देश नेपाल र भारतमा पौराणिक समयदेखि चलिआएको सांस्कृतिक, आध्यात्मिक सम्बन्धलाई अझ मजबुत पार्न सहयोगी सिद्ध हुने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।