काठमाडौं– भारतीय प्रधानमन्त्री मोदीले नेपाल, नेपाली र काठमाडौं सहरको प्रशंसा गरेका छन्।
दुईदिने नेपाल भ्रमणको क्रममा शनिबार काठमाडौं महानगरपालिकाले प्रदान गरेको नागरिक अभिनन्दन ग्रहण कार्यक्रममा उनले काठमाडौं सहरको कला, संस्कृति र रहनसहनको लामो व्याख्या गरेका हुन्।
'मलाई काठमाडौं र नेपालले सधैं आकर्षित गर्छ किनकि यो सहर जति गहन छ, उति नै गतिमान छ', मोदीले भने, 'काठमाडौं हिमालयको काखमा बसेको एक अनमोल रत्न हो।'
उनले अर्को पटक नेपाल आउँदा बुद्धको जन्मभूमि लुम्बिनी पुग्ने बताए। 'यसपटकको भ्रमणमा जनकपुर, मुक्तिनाथ र पशुपतिनाथको दर्शन गर्ने अवसर पाएँ। अब जहिले नेपाल यात्राको अवसर मिल्छ, म समय निकालेर बुद्धको जन्मस्थल लुम्बिनी जाने कार्यक्रम अवश्य बनाउँछु', मोदीले भने।
'नेपाल आफ्नो प्राथमिकता र आवश्यकता अनुसार अगाडि बढोस्', आफूले निकै जिम्मेवारीका साथ यसो भनेको भन्दै मोदीले सो वाक्य दोहोर्याउँदै थपे, 'तपाईंहरुको सफलताको लागि भारत हमेशा नेपालको साथमा काँधमा काँध मिलाएर हिँड्न तयार छ।'
उनले नेपालको सफलता नै भारतको सफलता र नेपालको खुसी नै भारतको खुसी भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।