मुक्तिनाथ– दुई दिने नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ आउँदै गर्दा यस क्षेत्र स्वागतका लागि तयारी अवस्थामा रहेको छ।
मोदी शनिबार बिहान काठमाडौंबाट मुक्तिनाथ आउँदै छन्।
मन्दिर वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ भने स्वागतका लागि स्थानीयबासी परम्परागत भेषभुषासहित उपस्थित भएका छन्।
नेपालको राजकीय भ्रमणमा रहेका मोदी आज बिहान काठमाडौंबाट हेलिकप्टरमा मुक्तिनाथ प्रस्थान गरेका हुन्।
भारतीय प्रधानमन्त्री मोदीले मुक्तिनाथको दर्शन र पूजा गर्नुका साथै त्यहाँ उनकाे नागरिक अभिनन्दनकाे समेत तयारी गरिएको छ।
शुक्रबार जनकपुरधामबाट नेपाल यात्रा सुरु गरेका मोदीले यो भ्रमणलाई धार्मिक भ्रमणका रुपमा पनि चित्रित गर्न खोजेका छन्। उनले शुक्रबार जानकी मन्दिरमा १५ मिनेटभन्दा बढी समय पूजाआजा गरेका थिए।
कार्यतालिका अनुसार बिहान साढे ८ बजे मोदीले मुक्तिनाथमा पूजा गर्नेछन्। मुक्तिनाथबाट भारतीय प्रधानमन्त्री मोदी साढे १० बजे काठमाडौं फर्किएर सिधै पशुपतिनाथ मन्दिरमा विशेष पूजाका लागि पुग्ने कार्यक्रम छ।
पशुपति नाथमा पूजा सकेर मोदी आफू बसेको होटल हायातमा साढे ११ बजे पुग्ने कार्यतालिका छ। होटल हायातमा भारतीय प्रधानमन्त्री मोदीले राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ।
होटल हायातबाट मोदी राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा सहभागी हुन निस्कनेछन्। राष्ट्रियसभा गृहमा दिउँसो ३ बजे भारतीय प्रधानमन्त्री मोदीलाई काठमाडौं महानगरपालिकाले नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ।
नागरिक अभिनन्दन ग्रहण गरेपछि भारतीय प्रधानमन्त्री मोदी दिउँसो ४ बजे नयाँ बानेश्वर, तीनकुने हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फिर्ता हुने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।