काठमाडौं– मोरङ जिल्ला अदालतमा ३८ सय किलो सुन तस्करीको मुद्दामा अन्तिम दिन सरकारी वकिलहरु बहस गर्दै थिए। बहसकै क्रममा वकिलहरुले अनुसन्धान टोलीले निर्माण गरेको भिडियो इजलासमा देखाउन अनुमति मागे।
यसअघि बहस सुरु गर्दा न्यायाधीश नारायण शर्माले सरकारी वकिलको बहस सकिएपछि इजलासमा भिडियो पेस गर्न अनुमति दिएका थिए। सोही आधारमा प्रहरी र गृह मन्त्रालयले भिडियो देखाउने तयारी थाल्यो। सहसचिव ईश्वरराज पौडेल नेतृत्वको अनुसन्धान समितिले तयार पारेको सो भिडियो देखाउने तयारी भएकै बेला आरोपित पक्षका कानुन व्यवसायीहरुले विरोध जनाए। उनीहरुले भिडियो देखाउन नमिल्ने तर्क गरे र तत्काल रोक्न न्यायाधीशहरुसामु माग गर्दै इजलासमै होहल्ला गरे। अभियुक्तहरुका बीचमा फाटो ल्याउने र मनमुटाव बढाउने मनसायले सरकारी वकिलले भिडियो देखाउन लागेको आरोप समेत उनीहरुले लगाएका छन्।
सिडी न्यायाधीशलाई उपलब्ध भएकाले इजलासमा देखाउने कार्य आफूहरुलाई स्वीकार नभएको कानुन व्यवसायीहरुको भनाइ छ।
भिडियोलाई लिएर विवाद बढ्दै गएपछि न्यायाधीश शर्माले नै मध्यस्थता गर्नुपर्यो। वरिष्ठ अधिवक्ता र सरकारी वकिलबीच चर्काचर्की बढेपछि न्यायाधीश शर्मा अघि बढे र भने, 'भिडियो म अलग्गै हेर्छु।'
सरकारी वकिलले पेस गरेको भिडियोमा सुन तस्करीमा विषयमा भएका कुराकानी, मुख्य अभियुक्त चूडामणि उप्रेती 'गोरे'ले थाई एयर कम्पनीका कर्मचारीलाई कुटेको र श्रीमतीलाई यातना दिएको तथा टेलिफोनमा भएका मोलमलाईका दृश्यहरु समेटिएको थियो। विमानस्थलका कर्मचारीले 'सुन लुटियो' भनेको भिडियो समेत सरकारी वकिलको कार्यालयले इजलासमा देखाउन चाहेको थियो।
अदालत र आरोपपत्रमा अभियुक्तहरुले फरकफरक बयान गरेको र अदालतमा उक्त भिडियो देखाउँदै सबैका पोल एकै पटक खुल्ने डरले कानुन व्यवसायीहरुले रोकेको सरकारी पक्षको बुझाइ छ। न्यायाधीशलाई सिडी उपलब्ध गराएकाले त्यसलाई हेरेर न्याय हुने आश्वासन शर्माले दिएकाले आफूहरु पछाडि हटेको एक सरकारी वकिलले बताए।
अदालतमा पेस भएको अन्य प्रमाणझैं भिडियो पनि शक्तिशाली भएकाले यसलाई देखाउन आफूहरुले माग गरेपछि आरोपितका कानुन व्यवसायीले हस्तक्षेप गरेको उपन्यायाधीवक्ता पुण्यप्रसाद पाठक बताउँछन्।
'अभियोगपत्रमा जे माग थियो त्यसलाई अदालतमा पेस गरेका प्रमाणहरुले पुष्टि गर्छ,' उनले भने, 'थुनामै राखी मुद्दाको किनारा लाउन इजलासमा भिडियो माग गरिएको हो।' सुन तस्करीका विषयमा भएका कुराकानीहरु मोबाइल ल्याबमा पठाएर सिडी बनाएर समेत इजलासमा पेश गरेको उनले बताए।
उनका अनुसार मुख्य अभियुक्त गोरेले श्रीमतीलाई सुन तस्करीसँग जोडेर दिएको यातनाको भिडियो समेत पेस भएको छ। सुन तस्करमा आरोप लागेका व्यक्तिहरुको बैंक खातासँगै सुनका मालिक, भरियाबारे पनि अलगअलग विवरण इजलासमा सरकारी पक्षले पेस गरिसकेको छ।
प्रहरीको एक महिना लामो अनुसन्धानपछि गत बुधबार जिल्ला सरकारी वकिलको कार्यालयले बहालवाला प्रहरी अधिकृतसहित २९ जनालाई पक्राउ गरी मोरङ जिल्ला अदालतमा तीन वटा अभियोगपत्र दायर गरेको थियो।
उनीहरु विरुद्ध संगठित अपराध अन्तर्गत आपराधिक समूह स्थापना गरी सुन चोरी–पैठारी र निकासी गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएको छ।
मिलेमतोमा सुन तस्करी गर्ने ‘गोरे’ समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म ३८ सय किलो सुन तस्करी गर्दै १७ अर्ब १ करोड ८० लाख रुपैयाँ राज्यलाई नोक्सान पुर्याएको दाबी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।