पोखरा– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताको नाममा नेपालबाट तराईको भूभाग छुट्याउने षड्यन्त्र भएको बताएका छन्।
शुक्रबारदेखि पोखरामा सुरु भएको नेपाल युवक संघको आठौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै केसीले नेपालले संघीयता खारेज गरेन भने संघीयताले नेपाललाई खारेज गर्ने बताए।
उनले संघीयताको माग नेपाली जनताको माग नभई लम्पसारवादी नेताको मात्रै चाहना भएको आरोप लगाए।
‘संघीयता जनताले खोजेकै थिएनन्, यो त राजनीतिक पार्टीले आफ्नो स्वार्थ पूरा गर्न मात्र स्वीकार गरेका हुन्’, अध्यक्ष केसीले भने।
देशबाट राणा, पञ्चायत र राजाको शाषणको अन्त्य भइसके पनि अझै जनताको जीवनमा परिवर्तन नआएको उनको भनाइ थियो।
‘नेता विदेशीको स्वार्थ पूरा गर्न सत्तामा बस्छन्, अनि कसरी पूरा हुन्छ जनताको सपना?’ उनले प्रश्न राखे।
नेपालका सबै युवा विदेश पलायन भइरहेकाले त्यसलाई रोक्न सरकारले चाँडै नयाँ रणनीति ल्याउनुपर्नेमा जोड दिए। विदेशबाट आएको रेमिट्यान्सले नै देश चलेकाले वैदेशिक रोजगारमा गएका युवाको पनि सम्मान हुनुपर्ने केसीको माग थियो।
कार्यक्रममा युवा संघ नेपालका पूर्व केन्द्रीय अध्यक्ष राजीव पहारीले नेपालमा रोजगारको अवसर नभएकै कारण युवा विदेशिनुपरेको बताए।
उनले भने, ‘योग्यता अनुसारको काम र काम अनुुसारको दामको सिर्जना गरेर युवालाई देशभित्रै रहन सक्ने वातावरणको मिलाउनुपर्छ।’
यस्तै, योङ रेड फोर्सका कुमार परियारले नेपालका सरकारी कर्मचारीले भारतबाट तलब लिने गरेको आरोप लगाए।
‘कर्मचारीदेखि सेनासम्म सबैलाई भारतबाट नै तलब आउँछ, अनि कसरी बच्छ राष्ट्रियता?’ उनले भने।
शुक्रबारबाट सुरु भएको सम्मेलन आइतबारसम्म चल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।