पोखरा– प्रदेश ४ का सांसद तथा युवा संघ नेपालका पूर्व केन्द्रीय अध्यक्ष राजीव पहारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कुनै जालसाझीसहित नेपाल आएको भए त्यसको विरोध गर्न तयार रहेको बताएका छन्।
आजदेखि पोखरामा सुरु भएको नेपाल युवक संघको आठौं राष्ट्रिय सम्मेलनमा बोल्दै सांसद पहारीले भने, 'कुनै जालसाजीको सम्झौता लिएर आएको भए राम्रै उत्तर दिनुपर्छ।’ नाकाबन्दीको समय स्मरण गर्दै पहारीले नेपालले धेरै दु:ख पाएको र त्यो भुल्न नसकेको बताए।
‘नेपालको संविधान जारी हुँदा सबैले स्वागत गरे, तर भारतले विरोध मात्र गरेन नाकाबन्दी नै गर्यो,’ पहारीले भने, ‘काठमाडौंबाट धनगढी पुगेभन्दा पनि नजिकको भारतले हाम्रो संविधान स्विकारेन।’
पहारीले नाकाबन्दीको समयमा कुनै पनि हालतमा नझुकेको ओली सरकार यसपटक पनि नझुक्ने दाबी गरे। ‘फिल्म कस्तो हुन्छ त्यो कास्टिङ हेरेरै थाहा हुन्छ, नाकाबन्दी एउटा कास्टिङ थियो,’ भारतीय प्रधानमन्त्री मोदीलाई इंगित गर्दै उनले भने, ‘काँडामा हिँड्न बानी परेको मान्छे रातो कार्पेटमा चिप्लिन सक्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।