काठमाडौं- ग्रेटवाल मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता बन्न विभिन्न कर्पोरेट हाउसहरुबीच लामो समय प्रतिस्पर्धा नै चल्यो। ‘कर्पोरेट वार’कै रुपमा हेरिएको यो डिलरसिपमा विशाल ग्रुपले बाजी मारेको छ।
चिनियाँ सवारी उत्पादक ग्रेटवाल मोटर्सले नेपालका लागि आधिकारिक बिक्रेता नियुक्त गरेको छ। कम्पनीले डिसेम्बर ३१ मा विशाल ग्रुप अन्तर्गतको भिजी इम्पेक्स प्रालिलाई आधिकारिक बिक्रेता नियुक्त गरेको हो।
दुई कम्पनीबीचको सम्झौतामा ग्रेटवाल मोटर्स (जिडब्लुएम)का तर्फबाट नायब महाप्रवन्धक (इन्टेरनेसनल सेल्स) टोनी सन र विशाल ग्रुपका तर्फबाट कार्यकारी निर्देशक निकुञ्ज अग्रवालले हस्ताक्षर गरेको ग्रेटवाल मोटर्सको वेबसाइटमा उल्लेख छ।
कोरोना भाइरस संक्रमण जोखिमका कारण दुई कम्पनीले ‘क्लाउड साइनिङ’ गरेका हुन्। ग्रेटवाल मोटर्स भारतमा प्लान्ट स्थापना गर्दै आक्रामक बजार विस्तारको योजनाका साथ अगाडि बढेको छ। अटो एक्स्पो २०२० बाट औपचारिक रुपमा ग्रेटवाल भारतीय बजारमा आएको हो। ग्रेटवाल मोटर भारतमा हाभाल ब्रान्डसहित आएको छ।
चिनियाँ उत्पादन नेपाली बजारमा केही समयअघि बिक्री भएको थियो। तर सवारी आयातकर्ताहरुले एकपटक ल्याएर बिक्री गरेको, त्यसलाई निरन्तरता नदिएको र पार्टका बारेमा बेवास्ता गरेकाले चिनियाँ सवारी ब्रान्डप्रति नेपालीको धारणा सकारात्मक पाइँदैन।
विगतमा चेरी, जोते, ग्रेटवाललगायत ब्रान्डका सवारी बिक्री भएका थिए। भारतमा उत्पादन हुने भएपछि चीनबाट आयात गर्दाभन्दा तुलनात्मक रुपमा सस्तो हुने र पार्टपुर्जाको समेत समस्या नहुने भएकाले व्यावसायिक घरानाको आँखा ग्रेटवाल मोटर्समा लागेको हो। ग्रेटवाल मोटर्स नेपाल ल्याउन सारडा समूह, विशाल समूह, एमएडब्लू वृद्धि र देवस्वरुप महर्जन लागिपरेका थिए। विशाल समूहले हाल पूजा इन्टरनेसनलमार्फत् फक्सवागन, पारामाउन्ट मोटर्समार्फत् एमजी र एड्भान्स अटोमोबाइल्समार्फत् रेनोको कार भित्र्याउँदै आएको छ।
लकडाउनकै बीचमा विशाल ग्रुप अन्तर्गतको पारामाउन्ट मोटर्समार्फत् जापानी ब्रान्ड माज्याको समेत आधिकारिक बिक्रेता नियुक्त भएको थियो। ग्रेटवाल मोटर्सलाई नेपाल भित्र्याउन लागिपरेको अर्को समूह थियो, एमएडब्लू। एमएडब्लूकै अर्को कम्पनी एमएडब्लू वृद्धिमार्फत् ग्रेटवाल ल्याउन लागेको थियो। चिनियाँ सवारी उत्पादक कम्पनीसँग राम्रो सम्बन्ध बनाएका व्यवसायी देवस्वरुप महर्जनसमेत ग्रेटवाल मोटर्स ल्याउन लागिपरेका थिए।
चिनियाँ सवारी भित्रने भारतीय ‘गेट वे’
चिनियाँ सवारी उत्पादकहरु भारतीय बजारमा बजार विस्तार गर्न लालयित हुन थालेका छन्। बढ्दो सवारी बजारलाई ‘क्यास’ गर्ने उद्देश्यले चिनियाँ सवारी उत्पादक भारत प्रवेश गरेका हुन्। उनीहरु भारत प्रवेश गर्नुको अर्को लक्ष्य हो– भारतलाई आधार बनाएर उदीयमान एसियाली बजारमा आफ्नो उत्पादन लिएर जानु। नेपालीहरुले विभिन्न कारणले चिनियाँ सवारीलाई विश्वास नगरेको अवस्थामा चिनियाँ सवारी भारतमै प्लान्ट स्थापना गर्ने गरी आएपछि नेपाल ल्याउन सहज भएको हो।
भारतीयहरुले चिनियाँ सवारीमा विश्वास गर्ने आधार नदेखेपछि स्थानीय सवारी उत्पादकसँग साझेदारी गर्ने वा अन्तर्राष्ट्रिय ब्रान्ड खरिद गरेर चिनियाँहरु तेस्रो बजारमा प्रवेश गर्ने रणनीतिमा रहेको देखिन्छ। केही वर्षअघि चीनको सांघाईमा रहेको एसएआइसी मोटर कर्पोरेसन लिमिटेडले बेलायती सवारी उत्पादक कम्पनी एमजी (मोरिस ग्यारेज) खरिद गर्यो। बेलायती ब्रान्ड एमजी मोटर्समार्फत् चिनियाँ कम्पनी एसएआइसीमार्फत् भारतीय बजारमा प्रवेश गरेको हो।
अमेरिकी सवारी उत्पादक कम्पनी जनरल मोटर्स (जिएम) ले भारतीय बजारमा दुईवटा प्लान्ट स्थापना गरेको थियो। भारतको गुजरात र महाराष्ट्रमा रहेका प्लान्टबाट सेब्रोलेका कार उत्पादन गरी बिक्री तथा निर्यात गर्दै आएको थियो। विविध कारण सन् २०१७ मा जिएम भारतबाट औपचारिक रुपमा बाहिरियो। त्यसपछि चिनियाँ कम्पनी एसएआइसीलाई भारत प्रवेशका लागि सहज वातावरण बनेको हो। त्यस्तै ग्रेटवाल मोटर्सले जिएमकै अर्को प्लान्ट खरिद गरेर सवारी उत्पादन थाल्दैछ। ग्रेटवाल मोटर्सले २०२१ भित्रै सवारी उत्पादन गरी बजारमा ल्याउने लक्ष्य लिएको छ। चीनको सबैभन्दा ठूलो एसयुभी उत्पादक ग्रेटवाल मोटर्सले भारतमा सवारी उत्पादन प्लान्टमा करीब ७ हजार करोड भारतीय रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ। ग्रेटवाल मोटरले भारतमा सहायक कम्पनी हाभाल मोटरमार्फत् उक्त लगानी गर्ने भएको छ।
तर पछिल्लो समय भारत सरकारले चिनियाँ कम्पनी ग्रेटवाललाई महाराष्ट्रमा पलन्ट सञ्चालनको अन्तिम स्वीकृति भने दिएको छैन। नेपालमा ग्रेटवाल तथा हाभाल दुवै ब्रान्डका सवारी आउनेछन्। भारतमा उत्पादन भएपछि उक्त ब्रान्ड नेपाली उपभोक्तामाझ सहजै स्वीकार्य हुने अनुमान व्यवसायीहरुले गरेका छन्।
हाभालको एसयुभी र इलेक्ट्रिक कार
ग्रेटवाल मोटर्सले अटो एक्स्पो २०२० मा सार्वजनिक गरेको ‘आर–१’ इलेक्ट्रिक कार हो। चीनमा यो कार करिब ९ लाख रुपैयाँमा किन्न सकिन्छ भने यो कार नेपाल आउँदा करिब १५ लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ। आर–१ लाई विश्वकै सस्तो इलेक्ट्रिक कारका रुपमा समेत लिइएको छ। प्रतिघण्टा १०० किलोमिटरको रफ्तारमा दौडने यो कार फुलचार्जमा ३ सय ५१ किलोमिटर कुद्न सक्छ।
त्यस्तै हाभालको एफ–५ र एफ–७ एसयुभी निक्कै उत्कृष्ट रहेका छन्। अटो एक्स्पोमा भारतमा सार्वजनिक भएका यी दुई एसयुभी नेपाल आउने सम्भावनासमेत अत्यधिक छ। कम्पनीले २०२० मार्च अन्तिमसम्ममा नेपालका लागि आधिकारिक बिक्रेता टुंग्याउने अनुमान गरिए पनि कोरोना भाइरसका कारण धकेलिएको थियो। २०२० को अन्तिम दिन अर्थात् डिसेम्बर ३१ मा विशाल ग्रुपले ग्रेटवालसँग सम्झौता गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।