जनकपुरधाम– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन समारोहमा मधेसका जनता राज्यबाट अपहेलित भएको बताएका छन्। उनले विभेदकारी संविधान र प्रादेशिक अधिकारका लागि मधेश संघर्षरत रहेको बताए।
भारतीय प्रधानमन्त्री मोदीको सम्मानमा आज जनकपुरधाममा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले मधेसका जनता तुलनात्मक रुपमा शोषित जीवन जिउन बाध्य भएको बताए।
‘राज्यद्वारा मधेसी जनताप्रति जारी विभेदपूर्ण नीति तथा पूर्वाग्रहपूर्ण अधिकारले गर्दा मधेसी जनता तुलनात्मक रुपमा अत्यधिक गरिब, बेरोजगारी, अभाव तथा शोषित जीवन जिउन बाध्य छन्’, उनले भने, ‘हाम्रो देश नेपालमा पनि जातीय तथा सम्प्रदायका आधारमा गरिने कुनै पनि विभेद तथा भेदभावलाई निमिट्यान्न पारी सबै सरकारी अंगमा आफ्नो योग्यता र क्षमताका आधारमा अवसर मिलोस्।’
उनले जनकपुरलाई अन्तर्राष्ट्रिय धार्मिक स्थलका रुपमा परिणत गर्दै प्रदेश २ को सरकारले भारतसँग सम्बन्ध बढाउन चाहेको बताए। मुख्यमन्त्री राउतले भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमण नवगठित प्रदेश सरकार र मधेसी समुदायको पहिचानलाई संसारभर स्थापित गराउन ऐतिहासिक र चिरस्मरणीय रहेको धारणा राखे।
उनले प्रदेश २ भएर बग्ने कोसी, बाग्मती, कमला लगायतका नदीको उचित व्यवस्थापन नहुँदा बर्सेनि दुवै देशका सीमाक्षेत्रमा बस्ने नागरिकले पीडा खेप्दै आएको स्मरण गराए। यस समस्याको न्यूनीकरणका लागि दुवै देशले सामूहिक रुपमा ठोस कदम चाल्न आवश्यक रहेको उनले बताए। उनले भने, ‘यसका लागि चुरे संरक्षण, नदी नियन्त्रण तथा सुनकोसी कमला डाइभर्सन प्रोजेक्ट उचित हुन सक्छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।