काठमाडौं– हिन्दु राष्ट्रको आन्दोलन उछाल्न आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका श्रीनिवास आचार्य नामले चिनिएका दिनेशप्रसाद पण्डित अस्पताल भर्ना भएका छन्। प्रहरी हिरासतमै देहत्याग गर्ने भन्दै पक्राउ परेदेखि केही नखाएका उनको स्वास्थ्य बिग्रिएपछि प्रहरीले बिहिबार अस्पताल भर्ना गरेको हो।
सोमबार मोरङ प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको थियो। गत चैत २५ गते विराटनगरमा उनीमाथि गोली प्रहार भएको थियो। हिन्दु धर्मका गुरुमाथि आक्रमण भएको भन्दै आन्दोलन सुरु गर्न उनी आफैंले गोली हान्न लगाएको खुलेपछि श्रीनिवास पक्राउ परेका थिए।
उनका सहयोगी लक्ष्मीराज अधिकारी तथा गोली हान्ने माधव चौधरीलाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा सो तथ्य खुलेको हो। हातमा गोली हान्न लगाइएकोमा उनको कोखामा लागेको थियो।
पक्राउ परेलगत्तै उनले प्रहरी हिरासतमै देहत्याग गर्ने धम्की दिएको जिल्ला प्रहरी कार्यालय मोरङका एक प्रहरी अधिकारीले नेपाल लाइभलाई बताए। हिरासतमै उनलाई प्रहरीले निरानीमा राख्दै आएको छ।
उनीविरुद्ध हातहतियार तथा खरखजना मुद्दा चलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।