काठमाडौं– रौतहटको कटहरियाका मेयर सियारामप्रसाद कुशवाह कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएपनि उनको क्षेत्रमा 'निर्वाचन हुने वा नहुने' तथा ‘पदाधिकारी आयोग्य हुने’ कानुन नहुँदा अन्योल देखिएको छ।
स्थानीय तह निर्वाचन ऐनमा फौजदारी अभियोगमा दोषी ठहर भएको व्यक्ति उम्मेदवार हुन रोक लगाएपनि निर्वाचित भएको व्यक्तिको पद रिक्त हुने उल्लेख गरिएको छैन। पद रिक्त नहुदाँ उक्त क्षेत्रमा तत्काल निर्वाचन गर्न नमिल्ने देखिएको छ।
महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीका अनुसार उनी अयोग्य हुन कानुनको अभाव देखिएको छ। ‘फौजदारी अभियोगमा जन्मकैदको सजाय भएपनि उनको स्थानमा निर्वाचन गर्न अयोग्य भएको ठहर हुनु पर्दछ’, रेग्मीले भने, ‘सर्वोच्च अदालतसम्म आउन बाँकी रहेकाले अहिलेको अवस्थामा उनी निलम्वन मात्र हुने देखिन्छ।’
तर उच्च अदालतमा मुद्दा दायर भइ अयोग्य भएको आदेश आएमा भने उक्त क्षेत्रमा नयाँ निर्वाचन हुनसक्ने उनले बताए।
स्थानीय तह निर्वाचन ऐनको परिच्छेद ४ मा उम्मेदवारको योग्यता र अयोग्यता तोकिएको छ। उक्त ऐनको दफा १३ मा उम्मेदवारको अयोग्यता लेखिएको छ। तर हालसम्म स्थानीय तहले फौजदारी अभियोगमा कुनै पनि पदाधिकारी दोषी भए अयोग्य हुने कानुन निर्माण नगर्दा यस्तो समस्या देखिएको हो।
दफा १३ को उपदफा ‘च’ मा नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाइ वा अन्य कुनै कसुरमा जन्मकैद वा बीस वर्ष तथा सोभन्दा बढी सजाय पाइ त्यस्तो फैसला अन्तिम भएमा उम्मेदवार हुन अयोग्य हुने भनेको छ। तर निर्वाचित पदाधिकारीको बारेमा यो ऐनमा कुनै पनि व्यवस्था उल्लेख छैन। यसका लागि अलग्गै कानुन आवश्यक हुन्छ। तर उक्त कानुन हालसम्म निर्माण भएको छैन।
हिन्दु युवा संघ वीरगन्जका तत्कालीन अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा प्रहरीले बिहीबार कुशवाहलाई पक्राउ गरेपनि उनी निर्वाचित भएको क्षेत्रमा तत्काल निर्वाचन गर्न अप्ठारो पर्ने देखिएको हो।
कुशवाहालाई जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगन्जले जन्मकैदको फैसला सुनाएको थियो। सो फैसलापछि कुशवाहा फरार थिए। पक्राउ परेका कुशवाहालाई अदालतको फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरिने सिआईबीका डिएसपी कमल थापाले बताए।
नेकपा (माओवादी केन्द्र)बाट मेयरमा निर्वाचित कुशवाहालाई माओवादी नेता प्रभु शाहको स्वकीय सचिव हुँदा हत्या अभियोगमा मुद्दा चलाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।