काठमाडौं- माओवादी केन्द्रका सांसद अग्नि सापकोटाले भारतीय दूतावासलाई ५ करोडसम्म सीधै लगानी गर्न दिनु स्वतन्त्र आर्थिक नीति विपरीत भएकाले त्यसलाई बन्द गर्न माग गरेका छन्।
बजेटको सिद्धान्त र प्राथमिकताबारे प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सापकोटाले भारतीय दूतावासको लगानी रोक्नुपर्ने बताएका हुन्।
‘भारतीय दूतावासले ५ करोडसम्म सीधै लगानी गर्न पाउने भनी निर्णय गरिएको कुरा सार्वजनिक भएको छ, त्यसको वास्तविकता के हो’, सापकोटाले भने, ‘यो वैदेशिक लगानी भित्राउन निर्माण भएको विकास सहयोग नीति विपरीत छ।’
उक्त नीति विपरीत कुनै पनि देशले नेपालमा सीधै लगानी गर्न नपाउने भन्दै सापकोटाले त्यसलाई सरकारले खारेज गर्नुपर्ने बताए। आत्मनिर्भर र स्वतन्त्र अर्थ नीति राज्यले लिने हो भने यस्तो कुराले असर गर्छ भन्ने कुरामा सरकार प्रस्ट हुन जरुरी रहेको सापकोटाले बताए।
यसले कस्तो परिणाम ल्याउँछ भन्ने कुरामा अहिले नै प्रस्ट हुनु जरुरी रहेको उनले बताए।
‘अहिले हामी विदेशी पेलाइमा छौं, त्यो व्यवस्थाले झन् समस्या गर्नेछ’, सापकोटाले भने।
उनले स्वतन्त्र आर्थिक नीति र बाह्य सहयोगको नाममा हुने पेलाइलाई कसरी रोक्ने भन्नेबारेमा बजेट प्रस्ट हुन जरुरी रहेकोमा पनि जोड दिए।
उनले यो बजेटका प्राथमिकता हेर्दा अघिल्ला वर्षकै निरन्तरता जस्तो देखिएको भन्दै थपे, 'हामीले खोजेको बजेट क्रमभंगता हो, अर्थमन्त्रीले त्यसमा ख्याल गर्न जरुरी छ।’
शिक्षा, कृषि, पर्यटन र पूर्वाधार निर्माणमा बजेटले प्राथमिकता दिन जरुरी रहेको सांसद सापकोटाले बताए। भ्रष्टाचार नियन्त्रण गर्न नसके समृद्धि धेरै टाढाको कुरा भएको उनले बताए।
सांसद सापकोटाले बजेटमा पूर्वाधार र सुशासन लगायतका सबै कुरा भए पनि विशेष जोड दिने विषयहरु प्रस्ट रुपमा आउनुपर्नेमा जोड दिए।
भूकम्पपीडितहरुले पाउने भनेको सहुलियत ऋण अहिलेसम्म नपाएको भन्दै नपाउनुको कारणबारे सरकारको ध्यान जान जरुरी भएको उनले उल्लेख गरे। यस्तै, उनले आफ्नै खेत नभएका ४५ प्रतिशत किसान परनिर्भर भएकाले उनीहरुलाई राहत दिन जरुरी भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।