काठमाडौं- नेपाली कांग्रेसका सांसदले सांसद विकास कोषका नाममा साना परियोजनामा गरिएको लगानी बन्द हुनुपर्ने बताएका छन्।
बिहीबारदेखि चलेको बजेटको सिद्धान्त र प्राथमिकता विषयको छलफलमा कांग्रेसका सांसद राधेश्याम अधिकारीले यस्तो टिप्पणी गरेका हुन्।
‘बजेटले सांसद विकास कोष केन्द्रबाट बन्द गर्दै स्थानीय तहलाई दिन खोजेको संकेत गरेको छ, त्यसलाई स्वागत गर्न चाहन्छु’, सांसद अधिकारीले भने, ‘पूर्वाधार निर्माणमा केन्द्रले ध्यान दिनु राम्रो कार्य हो।’
अधिकारीले श्वेतपत्र र बजेटका प्राथमिकता फरक-फरक देखिएको पनि बताए। २०४६ साल र अहिलेको आर्थिक अवस्था के छ भन्ने लेखाजोखा नगरी श्वेतपत्र जारी गरिएको भन्दै उनले त्यस्तो बजेट नआओस् भन्ने कामना समेत गरे।
‘विगतका १० अर्थमन्त्रीमध्ये ८ अर्थमन्त्री वाम रुझानकै थिए’, अधिकारीले भने ‘श्वेतपत्रमा गरिएको आकलन नेपालको होइन भन्ने मेरो सोचाइ छ। मुलुकुको आर्थिक अवस्था अर्कै छ।’
बजेटमा सामुदायिक विद्यालयको स्तरोन्नति गर्न निजी विद्यालय बन्द गर्ने प्रस्ताव ल्याए आफूले त्यसलाई स्वागत गर्ने समेत सांसद अधिकारीले बताए। शिक्षा क्षेत्रमा बजेट निरन्तर घटिरहेको भन्दै उनले १७ प्रतिशत पुगेको बजेट घटेर १० मा खुम्चिएकोप्रति ध्यानाकर्षण गराए।
कृषिप्रधान देश भए पनि बजेटको खाकामा कृषि सम्बन्धी दुई वटा मात्र शब्द राखिएकोप्रति पनि उनले आपत्ति जनाए। यसप्रति अर्थमन्त्रीको धारणा माग्दै उनले भने, 'सिद्धान्त र प्राथमिकतामा यत्ति नै हो वा कृषि विकर्षणको केन्द्र भयो?'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।