जनकपुर- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा लाखौंको संख्यामा मानिसहरुको उपस्थिति हुने बताएका छन्।
आफ्नै कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै उनले प्रधानमन्त्री मोदीको स्वागतका लागि ससाना कुरामा पनि ध्यान पुर्याइरहेको बताए। 'लाखमात्र होइन,' उनले दाबी गरे, 'लाखौंको संख्यामा जनताहरु उपस्थित हुनेछन्।' भ्रमणलाई ऐतिहासिक बनाउनकै लागि प्रदेशभर सार्वजनिक बिदा दिइएको उनले बताए। 'प्रदेश २ का ८ वटै जिल्लामा बैठक गरेरै बिदाको निर्णय गरिएको हो,' उनले भने।
अहिले विशेषगरी सरसफाइमा केन्द्रित भएको भन्दै उनले सुरक्षाकर्मी मात्रै एक हजारको संख्यामा खटिएको जानकारी दिए। 'प्याब्सन, एनप्याब्सन, हिसान लगायतका संगठनलाई आग्रह गरेरै सरसफाइ र आफ्नो क्षेत्रमा सुरक्षा संवेदनशीलता अपनाउन आग्रह गरेका छौं,' मन्त्री राउतले भने।
प्रदेश २ बाट हुने मोदीको भ्रमणले मुलुकको विकास, समृद्धि र पहिचानका लागि सहयोग पुर्याउने उनले विश्वास व्यक्त गरेका छन्। 'उहाँको आगमनलाई खुसी, हर्ष र गौरवको रुपमा लिएका छौं,' राउतले भने, 'समग्र मुलुककै लागि यो गर्वको विषय हो।'
बुधबार बिहानको हावाहुरीले प्रवेशद्वारहरु भत्किएको जानकारी दिँदै उनले त्यसको निर्माण अहिले तीव्र गतिमा भइरहेको बताए। 'नागरिक अभिनन्दनको तयारी पनि पूरा भएको छ। स्टेज निर्माणको काम बेलुकासम्म सकिन्छ। त्यसपछि हामी सुरक्षा निकायलाई हस्तान्तरण गर्नेछौं,' उनले भने।
दुईदिने नेपाल भ्रमणमा आउन लागेका प्रधानमन्त्री मोदीले भ्रमणको पहिलो दिन भोलि २ घन्टा जनकपुरमा बिताउनेछन्। उनी बिहान १०:१५ बजे जनकपुर अवतरण हुनेछन्। मोदी आउनुभन्दा एक घन्टाअघि नै प्रधानमन्त्री केपी ओली जनकपुर आइसक्ने पनि मुख्यमन्त्री राउतले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।