जनकपुर- नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणको पहिलो दिन शुक्रबार (भोलि) २ घन्टा जनकपुरमा बिताउने भएका छन्।
भारतीय महावाणिज्यदूतको कार्यालय वीरगञ्जका महावाणिज्यदूत बिसी प्रधानले आज पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री मोदीको भ्रमण कार्यक्रमबारे जानकारी दिए। उनका अनुसार बिहान १०:१५ बजे मोदी हेलिकोप्टरबाट जनकपुर अवतरण हुनेछन्। त्यसपछि जानकी मन्दिर दर्शनका लागि १०:३० बजे पुग्नेछन्। जानकी मन्दिरमा पूजाआजा गरेपछि उनी बाह्रबिघा मैदानका लागि प्रस्थान गर्नेछन्। ११:४५ मा बाह्रबिघा पुगेर उनी नागरिक अभिनन्दनमा सहभागी हुने कार्यक्रम छ।
प्रधानमन्त्री मोदीले रामायण-अयोध्या सर्किटबारे पत्रकारसँग २ मिनेट ब्रिफिङ गर्ने महावाणिज्यदूत प्रधानले बताए।
मोदी सुरुमै जनकपुर आउनुको खास कारणबारे पत्रकारले सोधेको प्रश्नमा उनले घोषणै गर्ने खालको कार्यक्रम नभए पनि नेपाली जनतालाई भारतले दिएको सहयोगले निरन्तरता पाउने बताए। 'नेपालका प्रधानमन्त्रीले गरेको निमन्त्रणा अनुसार आउन लाग्नुभएको हो,' प्रधानले भने, 'उहाँको यो नितान्त धार्मिक भ्रमण हो। यसले मैत्रीपूर्ण सम्बन्धमा थप विकास गर्छ।'
यसबीचमा मोदीले पानी, रेल र कृषिक्षेत्रमा केही घोषणा गर्न सक्ने उनले संकेत गरे।
जनकपुरको सम्पूर्ण कार्यक्रम सकेपछि मोदी काठमाडौंका लागि १२:२५ बजे उड्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।