ठिनी– उपल्लो मुस्ताङमा बुधबार रातिदेखि बेमौसमी हिमपात भएको छ।
साँझदेखि परेको भारी वर्षातसँगै बाह्रगाउँ, मुक्तिक्षेत्र, दालोमे र लोमान्थाङ गाउँपालिकामा हिमपात भएको हो। बैसाख महिनाको अन्तिममा हिमपात भएको पहिलो अनुभव भएको स्थानीयले बताएका छन्।
करीब आधा फिट हिउँ जमेको र बिहानसम्म पनि हिउँ पर्ने क्रम जारी रहेको छुसाङबाट स्थानीय अमित तुलाचनले जानकारी दिए। हिमपात र वर्षासँगै बढेको चिसोका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकलगायतका विकास आयोजनाको काममा समस्या भएको छ। जोमसोमदेखि उपल्लो मुस्ताङ जोड्ने सडकमा यातायात सेवा प्रभावित भएको छ।
स्याउलगायत खेतीबालीमा बेमौसमी हिमपातले असर गर्ने भएकाले कृषक चिन्तित भएका छन्। हिन्दू तथा बौद्ध धर्मावम्बीको साझा तीर्थस्थल मुक्तिनाथ क्षेत्रमा पनि आधा फिटसम्म हिउँ जमेको छ।
बिहानदेखि हिउँ पर्न रोकिएको र मौसममा सुधार आएकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न मुक्तिनाथ भ्रमणको तयारीलाई भने असर नगर्ने मुस्ताङका प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले बताए।
हिमपात, वर्षा र चिसोका बाबजुद पनि मोदीको भ्रमण तथा स्वागतको तयारीमा प्रशासनिक र सुरक्षा निकायले तयारीलाई अन्तिम चरणमा पुर्याएको बताइएको छ। वर्षातका कारण विभिन्न ठाउँमा पहिरो खसेपछि बेनी—जोमसोम सडक अवरुद्ध बनेको छ। अवरुद्ध सडक खुलाउन बिहानैदेखि मजदूर तथा उपकरण परिचालन गरिएको बेनी—जोमसोम—कोरला सडक आयोजनाले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।