भैरहवा– गौतमबुद्धको जन्मस्थल लुम्बिनी मार्गमा निर्माण थालिएको सडक पुल वर्षौंदेखि अलपत्र परेको छ।
पुल बनाउने ठेक्का पाएको पप्पु बाम्ती जेभी कन्सट्रक्सन र सडक डिभिजन कार्यालय बुटवलको चरम लापरवाहीको कारण निर्माण थालिएको चार वर्षसम्म पनि पुलको काम पूरा भएको छैन।
ठेकेदार कम्पनीले लुम्बिनी मार्गमा रहेका दानव र तिनाउ नदीमा गरी दुई वटा पुल २०७३ सालसम्ममा निर्माण गर्ने भन्दै ०७१ असार २५ गते सम्झौता गरेको थियो। यी दुवै पुल साँघुरो र जीर्ण भएपछि सडक डिभिजन कार्यालयले नयाँ पुल बनाउन ठेक्का दिएको थियो। तर, निर्माण थालिएको चार वर्षमा पुल निर्माणमा ४० प्रतिशत मात्र काम भएको छ।
पुल नबन्दा गत मध्य बैसाखमा लुम्बिनीमा आयोजित बौद्ध सम्मेलन तथा बुद्ध जयन्तीका बेला साँघुरो पुलमा सवारी जामको समस्या हटाउन स्थानीय प्रशासनले तीन दिनसम्म लुम्बिनी मार्गमा मालवाहक ठूला सवारीसाधन चलाउन रोक लगाउनुपरेको थियो।
पुल निर्माण वर्षौंदेखि अलपत्र हुँदा लुम्बिनी जाने स्वदेशी तथा विदेशी पर्यटकले समस्या खेप्दै आएका छन्। निर्माणाधीन पुलको छेउमा रहेको जीर्ण पुल हुँदै लुम्बिनी जाने पर्यटकहरु घन्टौंसम्म जाममा फस्नुपर्ने अवस्था छ।

पुल निर्माण नहुँदा ट्राफिक व्यवस्थापनमा पनि समस्या परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी निरीक्षक दक्षकुमार बस्नेत बताउँछन्। उनले साँघुरो पुलका कारण सवारी जाम हुँदा एकतर्फी मात्र सवारी सञ्चालन गराउनुपरेको बताए।
बदनाम कम्पनी, अलपत्र काम
पुलको निर्माणको ठेक्का पप्पु र बाम्ती निर्माण सेवाले संयुक्त रुपमा लिएका हुन्। पप्पु कन्सट्रक्सनले लिने अधिकांश ठेक्का यस्तै अलपत्र छाड्ने र संरचना पनि गुणस्तरहीन बनाउने गरेकाले जनस्तरमा बदनामी कमाएको छ।
समयमा काम सम्पन्न नगरेको ठेकेदारले विभिन्न कारण देखाउँदै २०७५ असार २३ गतेसम्म काम सम्पन्न गर्ने थप म्याद पाएको छ। सडक डिभिजन कार्यालय बुटवलले समयमा काम सम्पन्न नगरेको ठेकेदार कम्पनीलाई २०७३ मा २ वर्ष म्याद थपे पनि अहिले पुल निर्माणको काम ठप्प छ।
थपिएको म्याद अनुसार अबको दुई महिनामा पुलको काम सक्नुपर्ने भए पनि त्यसको कुनै छाँटकाँट छैन। कम्पनीले फेरि पनि वर्षाका कारण काम हुन नसकेको बहाना बनाउँदै म्याद थप्ने आशा राखेको र डिभिजन कार्यालयले पनि म्याद बढाउने तयारी गरेको कार्यालय स्रोत बताउँछ।
ठेकेदारको मात्र दोष छैन : सडक डिभिजन प्रमुख
ठेकेदार कम्पनीले तिनाउ नदीको ४० प्रतिशत र दानव नदीको ३० प्रतिशत मात्र काम सम्पन्न गरेको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख कैलाश श्रेष्ठले बताए। उनले पुल निर्माणको ढिलाइमा ठेकेदारको मात्रै दोष नरहेको भन्दै प्राविधिक समस्याका कारण पुल निर्माणको काममा ढिलाइ भइरहेको दाबी गरे।

डिभिजन कार्यालय प्रमुख श्रेष्ठले दानव नदीमा पिल्लर ढलान गर्दा पुलको एप्रोच सडक भासिने सम्भावना रहेको र तिनाउमा भने सवारीसाधन रोकेर काम गर्नुपर्ने भएकाले डाइभर्सन बनाउने ठाउँ नहुँदा निर्माण कार्य रोकिएको बताए। समस्याबारे सडक विभागमा जानकारी गराइएको र विभागबाट निर्णय भएपछि काम अगाडि बढाउने उनले बताए।
उनले भूकम्प, मधेस आन्दोलन लगायतका कारण ठेकेदार कम्पनीलाई यसअघि २ वर्ष म्याद थपिएको बताए।
कार्यालयले ६ करोड २ लाख ५६ हजार रुपैयाँमा तिनाउ पुलको ठेक्का दिएकोमा ३ करोड १२ लाख रुपैयाँ ठेकेदारलाई भुक्तानी गरिसकेको छ। त्यस्तै, ५ करोड ५६ लाख ८० हजार रुपैयाँमा दानव पुलको ठेक्का दिएकोमा १ करोड ९१ लाख १४ हजार रुपैयाँ भुक्तानी भएको कार्यालयले जनाएको छ।
डिभिजन सडक कार्यालय बुटवल अन्तर्गत निर्माण भइरहेको ५९ पुलमध्ये ९ वटा पुलको हालत यस्तै अलपत्र छ। निर्माणाधीन ५९ वटा पुलमध्ये दानव, नयाँ गाउँ, दुर्गामन्दिर पुल, कञ्चनिया पुल रुद्रपुर, बनकसियाघाट, धनेवा नदी पुल, गोबरियाव डेरवा, झरदिखोला पुल महेशपुर चिसापानी, पुरानो हाटबजार बुटवल, टुटहवा बाँध गुठीपर्सौनी, तिनाउ नदी पुल मणिग्राम, मोतीपुर पुल पनि कुनै ठेकेदारको लापरवाही र कुनै प्राविधिक तथा ठाउँका कारण निर्माणमा ढिलासुस्ती भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।