जनकपुरधाम- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि जनकपुरधाममा धमाधम बाटो बनाउने काम भइरहेको छ। नेपालको राजकीय भ्रमणको सुरुवात जनकपुरबाट गर्न लागेका भारतीय प्रधानमन्त्री मोदी आउने बाटो दुई दिन बाँकी हुँदा समेत बनाइसकिएको छैन।
मोदी भारत विहारको पटनाबाट जनकपुर विमानस्थलमा आउने भएपछि विमानस्थलबाट जानकी मन्दिरसम्मको बाटो बनाउन उपमहानगरपालिकाले दिन-रात काम गरिरहेको छ।
२४औं घन्टा कामदारलाई खटाएर काम गराए पनि काम पूरा हुन सकेको छैन भने त्यसको कारणले सर्वसाधारलाई समेत मर्का परेको छ।
यसैगरी, बुधबार बिहान परेको पानी तथा हावाहुरीका कारण काम प्रभावित भएको छ। बाटोमा भएको हिलोका कारण पिच गर्ने काममा कठिनाई आएको छ।
गए राति आएको आँधी तथा पानीका कारण मोदीको स्वागतका लागि लगाइएका स्वागत गेटहरु झरेपछि अहिले फेरि धमाधम बनाउने काम भइरहेको छ।
मोदीले जानकी मन्दिर जाने बाटो बनाउने काम पहिलादेखि नै गरिए पनि दुई पटक रुट परिवर्तनको कुरा आएपछि अझै काम सम्पन्न नभएको अवस्था छ। मोदी जनकपुर विमानस्थलमा वैशाख २८ शुक्रबार बिहान ९ बजे उत्रिने कार्यतालिका छ।
उनी क्याम्पस चोक, विद्यापति चोक, विश्वकर्मा चोक, परिक्रमा सडक, रमानन्द चोक हुँदै जानकी मन्दिर पुगेर पूजा गर्ने कार्यक्रम छ। जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै भारतीय प्रधानमन्त्री मोदीले पूजा गर्नेछन्। पूजापछि रंगभूमी मैदान बाह्र बिघामा उनको नागरिक अभिनन्दन गरिनेछ। मोदीले बाह्र बिघामा आयोजित कार्यक्रमलाई सम्बोधन समेत गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।