काठमाडौं- सेयर बजारबारे डा युवराज खतिवडा र नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले फरक अभिव्यक्ति दिएका छन्।
अर्थमन्त्री डा खतिवडाले सेयर बजारलाई जोखिमको व्यवसाय भनिरहँदा गभर्नर नेपालले सेयरलाई जोखिम न्यूनीकरण र विकासको सूचक भएको बताएका छन्।
भृकुटीमण्डपमा सुरु भएको पुँजी बजार प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री डा खतिवडाले पुँजीलाई बैंकको निक्षेपमा राख्दा उचित र सुरक्षित प्रतिफल पाउने बताए। तर, गभर्नर डा नेपालले स-सानो रकम पुँजी बजारमा लगानी गरे सुरक्षित भविष्यको आधार तयार हुने बताए।
डा खतिवडाले सेयर बजारमा लगानी गर्नुअघि धेरै सोचविचार गरेर मात्र लगानी गर्न लगानीकर्तालाई आग्रह गरेका छन्।
उनले भने, ‘सेयर बजार जोखिमको लगानी हो। यसमा लगानी गर्दा नाफा अनुसार घाटा पनि ब्यहोर्न सक्ने क्षमता चाहिन्छ।’
डा खतिवडाले लगानीकर्तालाई भेडो भएर सेयर बजारमा लगानी नगर्न आग्रह गरेका छन्। डा खतिवडाले भने, ‘भेडो प्रवृत्तिको कारण सेयर बजारमा जोखिम बढ्दै भएको छ। यसलाई न्यूनीकरण गर्न लगानीकर्ता आफैं सचेत बन्नुपर्छ।’
यता गभर्नर नेपालले पुँजी बजारबिना मुलुकको विकास हुन नसक्ने बताएका छन्।
उनले भने, ‘पुँजी बजारको विकासबिना मुलुकको विकास सम्भव छैन।’
उनले हालसम्म जति मुलुक विकसित भएका छन्, त्यो पुँजी बजारकै कारण भएको बताए।
गभर्नर नेपालले भने, ‘पैसालाई व्यवस्थापन गर्ने र भविष्य सुरक्षित बनाउने आधार पुँजी बजार नै हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।