काठमाडौं– सनम शाक्य हत्यामा मुख्य अभियुक्तलाई जोगाएको आरोपमा पक्राउ परेका एसएसपी दिवेश लोहनीले शाक्य हत्याको अनुसन्धानमा नियतवश कुनै गल्ती नगरेको दाबी छन्।
मंगलबार मोरङ जिल्ला अदालतमा दिएको बयानमा उनले हत्याका प्रमुख अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई पक्राउ गर्न उनीसँग फिल्डमा खटिएका प्रहरी अधिकारीहरुले फोनमा कुरा गरेको र त्यसमा गलत नियत नभएको उनको दाबी छ।
त्रिभुवन विमानस्थलबाट तस्करी भएको ३३ किलो सुन गायब बनाएको आरोपमा तस्कर समूहबाटै फागुन १८ गते शाक्यको हत्या भएको थियो। त्यसबेला लोहनी महानगरीय अपराध महाशाखाका प्रमुख थिए। उनले मोरङमा टोली पठाएर शव बरामद गरी जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाएका थिए।
धरानमा भेटिएको शवलाई मोरङमा भेटिएको भनेर नाटक गरिएको र हत्याका मुख्य नाइके उप्रेतीसँग साँठगाँठ गरेको भन्दै गृह मन्त्रालयद्वारा गठिन छानबिन समितिले उनलाई समेत बयानमा बोलाई प्रतिवादी बनाउने निर्णय गरेको थियो। मुद्दा चलाउने अघिल्लो दिन उनलाई बोलाइएकाले उनको यसअघि बयान भएको थिएन। मंगलबार इजलासमा उनको पहिलो बयान भएको हो।
यस्तो छ एसएसपी लोहनीको बयानको केही अंशः
जाहेरीवाला र मृतकलाई म चिन्दिनँ। कसले कसरी हत्या गर्यो, त्यसबारे पनि मलाई थाहा छैन। घटनाको दिन म महानगरीय अपराध महाशाखा टेकुको प्रमुखका रुपमा कार्यालयमा कार्यरत थिएँ।
कार्यालयमा काम गरिरहेको अवस्थामा सई बालकृष्ण सञ्जेल २ बजेतिर मेरो कार्यालयमा आए। उनले 'गोरे' भन्ने अपराधी व्यक्तिले ३३ किलो सुन प्रकरणमा एक जना मान्छे मारेको खबर आफूले पाएको बताए। उनले बचाउन सकिन्छ कि, केही उपाय लाग्छ कि, बचाइदिनुपर्योो भनी प्रस्ताव गरेका थिए।
मैले तत्कालीन महानिरीक्षक प्रकाश अर्याललाई सम्पर्क गर्न खोजेँ। उहाँ बिदामा बसेकाले कल डाइभर्ट थियो। निमित्त प्रहरी महानिरीक्षक बमबहादुर भण्डारीको फोनमा डाइभर्ट भएको थियो।
बमबहादुर सरलाई जानकारी गराई सूचना अनुसार खोजी गर्न निर्देशन दिएँ। शव मोरङतिर भएको पाइएपछि निमित्त महानिरीक्षक सरलाई पनि जानकारी गराएको थिएँ। त्यसपछि थप खोजी गर्न डिएसपी प्रजित केसीको टिमलाई निर्देशन दिएको थिएँ। सोही अनुसार उनीहरुले शव बरामद गरी मोरङमा बुझाएका हुन्।
फोनमा उप्रेतीसँग कुरा गरेर उनलाई पनि पक्राउ गर्ने प्रयास भएको थियो। तर, उनी विदेश भागे। अनुसन्धानमा कुनै गलत नियत राखेका थिएनौं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।